Techie IT
२०८२ कार्तिक २७, बिहीबार

जेनजी आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक ४ घण्टा देखि जारी


नेकपा (एमाले) को सचिवालय बैठक चार घण्टादेखि भक्तपुरको गुण्डुमा जारी छ। जेनजी आन्दोलनपछि बसेको यो पहिलो बैठक हो। अध्यक्ष केपी शर्मा ओलीको बसोबासस्थल गुण्डुमा आज दिउँसो सवा २ बजे बैठक सुरु भएको हो।

गत भदौ २३ र २४ गते जेनजी समूहले प्रदर्शन गरेका थिए। सोही आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। प्रतिनिधिसभाबाट नयाँ सरकार गठन हुने अवस्था नरहेको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरेका छन्। यही पृष्ठभूमिमा एमाले सचिवालय बैठक बसेको हो।

एमालेका कतिपय नेताहरूले ठूला दलका शीर्ष नेताहरूले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै आएका छन्। नेतृ बिन्दा पाण्डेले सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको आक्रोशको समीक्षा गर्दै ठूला दलका नेताले बाटो खोल्नु पहिलो कदम हुने बताएकी छन्।

उनले लेखेकी छन्, ‘जेनजी आन्दोलनले उठाएका मुद्दा बुझ्न आफ्नै परिवार, आफन्त वा छिमेकका युवाको कुरा धैर्यपूर्वक सुन्नु पर्याप्त हुन्छ। यस सन्दर्भमा राजनीतिक नेतृत्व अझ विवेकी बन्नु आजको आवश्यकता हो।’

पाण्डेले ठूला दलका शीर्ष नेताले आफ्नो पद र भूमिकाको गहन समीक्षा गरी बाटो प्रशस्त गर्नु आवश्यक भएको उल्लेख गरेकी छन्। उनका अनुसार, नेताहरूले नीति, विधि र नेतृत्वको रूपान्तरणसहित आम नागरिकबीच सहज स्वीकार्य बन्ने काममा ढिलाइ गर्न हुँदैन।

उनले सुशासनका बाधकको पहिचान गरी आवश्यक कारबाहीलाई निरन्तर प्रक्रिया बनाउनु पर्ने बताएकी छन्। ‘पहिलो पुस्ताको विदाइ गर्दै जेन–वाई र जेन–जेडलाई अग्रस्थानमा राखी जेन–एक्सलाई मार्गदर्शकको भूमिकामा स्थापित गर्नु अबको कामको केन्द्रबिन्दु हुनुपर्छ,’ पाण्डेले लेखेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट