Techie IT
२०८२ कार्तिक २७, बिहीबार

तोकिएको समयमा चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह


राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरी संसद र सरकारको निरन्तरता सुनिश्चित गर्न सबै पक्षलाई संयमित भई सहयोग गर्न आग्रह गरेका छन्।

बडादसैं २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशमा उत्पन्न राजनीतिक तथा असाधारण परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गर्न सबैलाई सहकार्य गर्न अपिल गरे।
राष्ट्रपतिले भनेका छन्, ‘तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध गर्दछु। दुर्गा भवानीले मुलुकमा उत्पन्न सबै प्रकारका समस्याको समाधान र समग्र राष्ट्रको कल्याणका लागि शक्ति प्रदान गरून्।’

गत भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि प्रतिनिधि सभाबाट नयाँ सरकार गठन हुन नसकेपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते नयाँ निर्वाचनको मिति तोकेका छन्।

सन्देशमा राष्ट्रपति पौडेलले देशको राजनीतिक संकट, मानवीय क्षति र सरकारी, संस्थागत तथा निजी क्षेत्रमा भएको भौतिक क्षतिलाई उचित व्यवस्थापन गर्दै शान्ति, स्थायित्व, सुशासन र समृद्धिका लागि सबैको सक्रिय योगदान आवश्यक रहेको उल्लेख गरेका छन्।
दसैं पर्वको संरक्षण र संवर्द्धनले राष्ट्रियता र एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले यस पर्वले सबैमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा विकास गर्न सकोस् भन्ने कामना गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट