Techie IT
२०८२ कार्तिक २७, बिहीबार

भावी प्रधानमन्त्रीका रूपमा सुदनलाई उभ्याउँदै अल जजिरा, खुल्दैछ रहस्यमय षड्यन्त्र


४८ घण्टाभित्रै सरकार ढाल्न सफल ‘जेन–जी’ आन्दोलनपछि फ्रन्टलाइनमा आएका सुदन गुरुङलाई कतारी मिडिया नेटवर्क अल जजिराले नेपालको भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ।

नेतृत्वदायी भूमिकामा प्रारम्भमै नरहेका र जेनजीको आन्दोलन हाइज्याक गरेको आरोप लागेका गुरुङसँगको विशेष अन्तर्वार्तामार्फत अल जजिराले उनलाई नेपालको सबैभन्दा प्रभावशाली व्यक्ति र देशको भविष्य निर्माताका रूपमा चित्रण गरेको हो।

गुरुङ अध्यक्ष रहेको संस्था ‘हामी नेपाल’ को आधिकारिक वेबसाइटमै अल जजिरालाई प्रमुख साझेदारको रूपमा उल्लेख गरिएको छ। आफ्नै साझेदार संस्थाको प्रमुखलाई सार्वभौम राष्ट्रको भावी कार्यकारी प्रमुखको रूपमा प्रस्तुत गरेको घटनाले गम्भीर प्रश्न उठाएको छ।

अल जजिराको ‘स्टार्ट हियर’ कार्यक्रममा गुरुङले आफू परिस्थितिबश राजनीतिमा प्रवेश गर्नुपरेको दाबी गर्दै भनेका छन्– ‘हामी पछि हट्दैनौं, अन्त्यसम्म लड्नेछौं।’ आन्दोलनमा मारिएका युवाको रगत लागेको भेस्ट देखाउँदै उनले न्याय नपाएसम्म त्यसलाई नधुने प्रतिज्ञा गरे।

जब पत्रकारले ‘के तपाईं व्यक्तिगत रूपमा चुनाव लड्दै हुनुहुन्छ?’ भनेर सोध्दा उनले दृढतापूर्वक ‘हो’ भन्ने जवाफ दिएका थिए । उनले थपे– ‘यो आन्दोलन हो। मैले लड्नैपर्छ। मेरो देश बचाउनैपर्छ।’

जेन–जी आन्दोलनको सुरुवाती नेतृत्व सबल गौतम, पुरुषोत्तम यादव र मिराज ढुंगानाले गरे पनि सरकार ढालिएपछि उनीहरू छायाँमा परे र ३८ वर्षीय गुरुङ एकाएक जेनजी वाहिरवाट ‘नायक’का रूपमा अघि आएका छन्। तर उमेर र नेतृत्व दुवै दृष्टिले गुरुङको भूमिका मौलिक नभएको टिप्पणी गरिएको छ।

गुरुङ पानी बाँड्ने स्वयंसेवकका रूपमा आन्दोलनमा प्रवेश गरेका थिए। तर ‘हामी नेपाल’ का ज्याकेट लगाएका कमाण्डो शैलीका स्वयंसेवकहरूले प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप छ। पाँच किलोमिटरसम्म काम गर्ने वाकिटकी सेटको प्रयोगले पनि आन्दोलन स्वतःस्फूर्त नभई योजनाबद्ध रहेको आशंकालाई बल दिएको छ।

उनको संस्था ‘हामी नेपाल’ ले भारतमा आधारित ‘स्टुडेन्ट्स फर अ फ्री तिब्बत’ सँग सहकार्य गरेको दाबी स्वयं वेबसाइटमा गरिएको छ, जसले नेपालको ‘एक चीन नीति’ विपरीत चीनविरोधी गतिविधिमा संलग्न भएको शंका उत्पन्न गरेको छ।

यति मात्र होइन, ‘हामी नेपाल’ ले बदनाम बिचौलिया दीपक भट्ट र शंकर समूहका सुलभ तथा साहिल अग्रवालजस्ता विवादास्पद व्यवसायीलाई ‘सहयोगी’ को रूपमा सम्मान गरेको तथ्यसमेत सार्वजनिक छ।

संस्थाको ५४ करोडभन्दा बढीको आर्थिक कारोबार अपारदर्शी रहेको र दाताको विवरण गोप्य राखिएको बताइन्छ। गुरुङका टर्की, चीन र थाइल्यान्ड भ्रमण पनि शंकास्पद ठहरिएका छन् र उनीमाथि अन्तर्राष्ट्रिय खुफिया निकायहरूको नजर परेको अनुमान गरिएको छ।

अन्तर्वार्तामा उनले पुराना राजनीतिक दललाई आगामी निर्वाचनमा रोक्ने चेतावनी दिंदै भनेका छन्– ‘उनीहरूले गरेका अपराधको छानबिन गरी जेल हालिनेछ। यदि जनताले फेरि उनीहरूलाई नै जिताए भने हामी पुनः सडकमा उत्रनेछौं।’

एकातिर अन्तरिम सरकार र निर्वाचनको कुरा गर्ने तर अर्कोतिर जनताको मतलाई अस्वीकार गर्ने गुरुङको भनाइले उनलाई लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध नभएको देखाउँछ।

अल जजिराले आफ्नै साझेदार संस्थाको प्रमुखलाई नेपालको भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्नु सामान्य घटना होइन। गुरुङको विवादास्पद अन्तर्राष्ट्रिय सम्बन्ध, अपारदर्शी आर्थिक कारोबार र अधिनायकवादी प्रवृत्तिले यो आन्दोलनको पछाडि ठूलो भूराजनीतिक स्वार्थ रहेको आशंका थप प्रष्ट बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट