Techie IT
२०८२ फागुन ११, सोमबार

सरकारलाई प्रतिशोधपूर्ण व्यवहार नगर्न राष्ट्रिय युवा संघद्वारा चेतावनी


काठमाडौं – नेकपा एमाले निकट संगठन राष्ट्रिय युवा संघ नेपालले वर्तमान सरकारले प्रतिशोधपूर्ण गतिविधि नगर्न चेतावनी दिएको छ।

संघका अध्यक्ष क्षितिज थेवेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोधपूर्ण कारबाही भए स्वीकार्य नहुने बताएका छन्।

विज्ञप्तिमा संघले आफ्नो स्थापना कालदेखि नै लोकतन्त्र, बहुदलीय व्यवस्था र जनहितको पक्षमा निरन्तर पहरेदारी गर्दै आएको र आवश्यक पर्दा बलिदानी र संघर्ष गर्न पनि पछि नपरेको उल्लेख छ।

संविधानले सुनिश्चित गरेको पूर्वाग्रह–रहित जीवनयापन र राजनीतिक क्रियाकलाप गर्ने मौलिक अधिकारको संरक्षणका लागि आफूहरू निरन्तर क्रियाशील रहेको संघले स्पष्ट पारेको छ। यस प्रसंगमा, पूर्वप्रधानमन्त्री ओलीसहितको राहदानी रोक्का गर्ने हालैको निर्णयप्रति संघले गम्भीर चासो र आपत्ति जनाएको छ।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन आयोगले प्रारम्भिक चरणमै कुनै प्रमाण वा आधारबिनै राहदानी रोक्का गर्ने निर्णय गरेको भन्दै संघले त्यसलाई राजनीतिक पूर्वाग्रहमा आधारित कदम भनेको छ। “हामी निष्पक्ष छानबिनको पक्षमा छौं, तर छानबिन नै नगरी अपराधी करार गर्ने शैली आपत्तिजनक छ,” विज्ञप्तिमा उल्लेख छ।

संघले ओलीले सम्पूर्ण जीवन नेपाल र नेपालीका लागि समर्पण गरेको, सम्पत्ति राज्यलाई सुम्पिसकेको र मुलुक नछोड्ने घोषणा गरिसकेको व्यक्तित्वमाथि यस्ता निर्णय प्रतिशोधको परिचायक भएको दाबी गरेको छ। त्यस्तै, पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने तयारी भएकोप्रति आपत्ति जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका प्रतिशोधपूर्ण क्रियाकलाप तत्काल रोक्न हामी सरकारलाई जोडदार माग गर्दछौं। यसरी अघि बढ्ने हो भने सरकारका लागि नै प्रत्युत्पादक हुनेछ भन्ने चेतावनी दिन चाहन्छौं।”

युवा संघले गृह मन्त्रालयले गत भदौ २४ गते विध्वंसकारी गतिविधिमा संलग्न भएकामाथि कारबाही नचलाउने निर्णय गरेकोमा पनि आपत्ति जनाएको छ। संघका अनुसार यस्ता निर्णयले दण्डहीनतालाई प्रश्रय दिन्छ र कानूनी राज्यको उपहास हुन्छ, त्यसलाई तत्काल सच्याउनुपर्ने माग गरिएको छ।

संघले जेन–जेडसहित आम युवाले उठाएका मागप्रति आफू सचेत रहेको र तिनको सम्बोधनका लागि निरन्तर ऐक्यबद्धता जनाउँदै आएको पनि जनाएको छ।

त्यस्तै, फागुन २१ गते प्रतिनिधिसभाको शान्तिपूर्ण, निष्पक्ष र भयरहित आम निर्वाचन गराउनु नै वर्तमान सरकारको प्रमुख जिम्मेवारी भएको संघको भनाइ छ। “हामी सरकारलाई उक्त जिम्मेवारीमा सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ।

संघले सरकार अनावश्यक रूपमा राजनीतिक प्रतिशोधमा अल्झिन खोजेको आभास भइरहेको भन्दै, पुनः निर्वाचनप्रति केन्द्रित हुन र लोकतान्त्रिक बाटोमा देशलाई अघि बढाउन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट