Techie IT
२०८२ असोज २१, मंगलबार

विपदमा कार्यकर्तालाई स्वयंसेवकका रूपमा सेवा गर्न कांग्रेसको अपील


नेपाली कांग्रेसले देशभर बाढी–पहिरोको जोखिम बढ्दै गएको भन्दै सरकार, राजनीतिक दलहरू र नागरिक सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कांग्रेसले आफ्ना सबै तहका कार्यकर्तालाई समेत आ–आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनमा स्वयंसेवकका रूपमा सक्रिय रहन आह्वान गरेको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी विज्ञप्तिमा असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने अनुमान गरिएको भारी वर्षा प्रणालीले ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै समयमै तयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेका छन्।

उनले गत वर्ष असोज १२ मा जनधनको ठूलो क्षति भएको र यस वर्ष भदौ २३–२४ को घटनाले मुलुकलाई अझै मर्माहत बनाएको स्मरण गर्दै पुनः ठूलो विपद् दोहोरिन सक्ने चेतावनी दिएका छन्।

विज्ञप्तिमा विपद् व्यवस्थापनका लागि सात बुँदे सतर्कता सुझाव दिइएको छ। त्यसअनुसार यात्रुहरूलाई समयमै सूचना दिने, सरकारका निर्देशन पालना गर्ने, जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थलतर्फ सार्ने, पहाडी सडक मार्ग आवश्यक अवधिसम्म बन्द गर्ने, यात्रु तथा स्थानीयलाई सहज बनाउन स्थानीय तह र स्वयंसेवीलाई सक्रिय गर्ने, साधन–स्रोत तयारी अवस्थामा राख्ने र जोखिम क्षेत्रका गतिविधि केही दिनका लागि स्थगित गर्ने जस्ता उपायहरूमा जोड दिइएको छ।

‘सरकारले युद्धस्तरमा सजगता र तयारी राखोस्, संभावित विपद सामना गर्न सबै जिम्मेवार ढंगले जुटौं,’ विज्ञप्तिमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट