माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा जाने, वाम एकताका लागि पहल जारी — प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सक्रियताका साथ आगामी निर्वाचनमा सहभागी हुने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले घोषित मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । ‘घोषित मितिमै निर्वाचन हुनुपर्छ र सबै दल सहभागी हुनुपर्छ भन्ने हाम्रो पक्ष हो,’ उनले भने, ‘माओवादी केन्द्र पूर्ण सक्रियताका साथ निर्वाचनमा जाने तयारीमा छ।’
उनले निर्वाचनमा सहभागी हुने विषयमा अन्य राजनीतिक दलहरूसँग संवाद भइरहेको जानकारी पनि दिएका छन् । ‘अन्य दलहरूसँग पनि कुराकानी भइरहेको छ। मलाई लाग्छ, छिट्टै त्यसको परिणाम देखिनेछ,’ प्रचण्डले भने ।
बैठकमा देशभर मनसुनका कारण भएको क्षति र राहतका उपायबारे पनि विस्तृत छलफल भएको उनले जानकारी दिए।
‘देशभर विपद्ले पुर्याएको क्षति र हाम्रो भूमिका के हुने भन्ने विषयमा छलफल भएको छ,’ उनले भने, ‘केन्द्रीय समितिले यस विषयमा आवश्यक निर्णय गरिसकेको छ।’
यससँगै प्रचण्डले पार्टी एकता र वाम ध्रुवीकरणबारे पनि ब्रिफिङ दिएका छन् । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको पहल भइरहेको बताए।
सचिवालय सदस्य देवेन्द्र पौडेलका अनुसार प्रचण्डले बैठकमा वाम एकता र मोर्चाबन्दीका प्रयासबारे विस्तृत जानकारी दिएका थिए।
‘विप्लवजीको पार्टी, माधव नेपालजीको पार्टी, महेन्द्र रायजीको पार्टीसँग एकता गर्ने र अशोक राईजीलगायतका दलहरूसँग मोर्चाबन्दी गर्ने विषयमा कुराकानी भइरहेको जानकारी उहाँले दिनुभयो,’ पौडेलले भने, ‘हालसम्म नेसपा मात्र एकताका लागि तयार भएको छ।’
असोज ९ र १० गते बसेको माओवादी केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। यता विप्लब नेतृत्वको प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
विप्लब नेतृत्वको नेकपाले असोज २५ गते केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ भने एकीकृत समाजवादीले पनि असोजको अन्त्यतिर एकता र मोर्चाबन्दीबारे छलफल गर्न बैठक आह्वान गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस