Techie IT
२०८२ असोज २१, मंगलबार

गगन–शेखर गठबन्धन देउवा हटाउने तयारीमा, विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन जारी


नेपाली कांग्रेसमा विशेष महाधिवेशनको मागसहित संकलन गरिएको हस्ताक्षर आगामी केन्द्रीय समिति बैठकअघि बुझाउने तयारी गरिएको छ।

सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। तर, जेनजी आन्दोलनपछि इतर पक्षले ‘अब देउवाको नेतृत्वमा पार्टी चल्न सक्दैन’ भन्ने निष्कर्षसहित हस्ताक्षर अभियान सुरु गरेको हो।

देउवालाई तत्काल हटाउनुपर्ने पक्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, साथै इतर पक्षका शीर्ष नेता डा. शेखर कोइराला रहेका छन्।

हस्ताक्षर अभियानको अगुवाइ कोइराला निकट नेता गुरुराज घिमिरेले गरिरहेका छन्। असोज ६ गते कोइराला र थापा निकट १०९ जना महाधिवेशन प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै अभियान सुरु गरेका थिए।

कांग्रेसको १४औँ महाधिवेशनमा ४,७४३ महाधिवेशन प्रतिनिधि थिए। पार्टीको विधानअनुसार महाधिवेशन प्रतिनिधिको ४० प्रतिशत हस्ताक्षर संकलन भएमा विशेष महाधिवेशन बोलाउन सकिन्छ।

इतर पक्षका नेताहरूले देशभर हस्ताक्षर अभियानलाई तीव्र बनाइरहेका छन् भने संस्थापन पक्ष भने नियमित महाधिवेशनको पक्षमा अडिएको छ।

विधानअनुसार, केन्द्रीय समितिका सदस्यहरूको बहुमत वा महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले हस्ताक्षर गरेपछि मात्र विशेष महाधिवेशन माग गर्न सकिन्छ। केन्द्रीय समितिमा देउवाको स्पष्ट बहुमत भएकाले इतर पक्षले दोस्रो विकल्प अर्थात् महाधिवेशन प्रतिनिधिबाट हस्ताक्षर संकलन रोजेको देखिन्छ ।

महामन्त्री थापा निकट एक नेताले भने, ‘हस्ताक्षर संकलन भइरहेको छ । दसैँका कारण केही दिन स्थगित भएको थियो, अब त्यसलाई तीव्रता दिँदै केन्द्रीय समिति बैठकअघि नै बुझाउने तयारी छ ।’

उनका अनुसार, विशेष महाधिवेशन आव्हान गर्न आवश्यक ४० प्रतिशत हस्ताक्षर नजिक पुगेको छ । अभियानमा महामन्त्री थापा र नेता कोइरालाको समेत सक्रिय भूमिका रहेको बताइएको छ ।

देउवाविरुद्धको हस्ताक्षर अभियान सुरु भएपछि थापा र कोइरालाबीचको सम्बन्ध पनि सुधारिएको र दुवै पक्ष निरन्तर संवादमा रहेको इतर नेताहरूले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट