नेपाली कांग्रेस पदाधिकारी बैठक भोलि पनि जारी
नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि पनि बस्ने भएको छ। आज पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व पदाधिकारी र पदाधिकारीहरूले आफ्ना धारणा प्रस्तुत गर्ने क्रम नसकिएकाले बैठकलाई भोलिसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
उनका अनुसार आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा विस्तृत छलफल भएको छ । “भोलि दिउँसो १ बजे बैठक पुनः बस्नेछ,” महतले बताए।
बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, “अहिले देशमा उत्पन्न परिस्थितिले राजनीतिक दलहरूका लागि ठूलो चुनौती खडा गरेको छ। यस्तो अवस्थामा लोकतान्त्रिक मूल्य–मान्यता र देशलाई कमजोर हुनबाट जोगाउने उपायबारे गम्भीर रूपमा छलफल भइरहेको छ।”
त्यस्तै, बैठकमा आगामी असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकका तयारीबारे पनि चर्चा गरिएको प्रवक्ता महतले जानकारी दिए।
“पूर्ण बैठकअघि समान धारणा विकास होस् भनेर पदाधिकारीबीच छलफल जारी छ,” उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस