बैठकमा कार्यवाहक सभापति तोक्नेबारे छलफल भएन - कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आज बसेको पदाधिकारी बैठकमा कार्यवाहक सभापति तोक्ने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले भने, “अहिले त्यो (कार्यवाहक सभापति) बारे कुनै चर्चा भएको छैन। बैठकमा पार्टीको अधिवेशन र आगामी नीतिगत तयारीबारे छलफल केन्द्रित रह्यो।”
बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशनको एजेन्डा प्रस्तुत गरेको जानकारी पनि महतले दिए।
जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेर पार्टी सभापति शेरबहादुर देउवा गम्भीर घाइते भएका थिए। उनी अहिले पनि स्वास्थ्य उपचारमा छन्।
यसैबीच आजको बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस