पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणबारे एमाले सचिवालयमा पुनः छलफल

नेकपा (एमाले) को सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने विषय उठेको छ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ ले भण्डारीको सदस्यता नवीकरणको प्रसंग उठाएका थिए। बैठक स्रोतका अनुसार, “तीनै नेताले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय सच्याउनुपर्ने प्रस्ताव राख्नुभएको छ।”
ईश्वर पोखरेल यसअघि नै भण्डारीको पक्षमा वकालत गर्दै आएका नेता हुन् । तर आजको बैठकमा विष्णु पौडेल र बादलले पनि खुलेरै भण्डारीको पुनः सदस्यता विषयमा धारणा व्यक्त गरेका थिए ।
पौडेलले भने, “पूर्वराष्ट्रपतिले पार्टीमा फर्किएर काम गर्न चाहनुहुन्छ भने स्वागत गर्नुपर्छ।” स्रोतका अनुसार, आगामी केन्द्रीय कमिटी बैठकमार्फत भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय लिनुपर्ने प्रस्ताव पोखरेल र पौडेलले अघि सारेका छन् ।
अर्का उपाध्यक्ष बादलले पनि भण्डारीको सदस्यता रोकिएर पार्टीलाई कुनै लाभ नहुने तर्क गरेका थिए ।
उनले बैठकमा भने, “उहाँको सदस्यतालाई लिएर पार्टीभित्र मनोविज्ञान विभाजित छ। अहिले पार्टीभित्र एकता आवश्यक छ। उहाँले चाहनुहुन्छ भने सदस्यता नवीकरण गरेर काम गर्ने अवसर दिनुपर्छ।”
तपाईको प्रतिक्रिया दिनुहोस