ओली, देउवा र प्रचण्डको म्युजिकल चेयर अन्त्य गर्नुपर्ने बेला आएको छ - गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन ठूला दलका शीर्ष नेताहरूलाई बिदा गरी नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन्।
आइतबार अपरान्ह सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पछिल्ला १० वर्षमा प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तालाई म्युजिकल चेयर जस्तै बनाएर देशलाई आजको समस्यामा पुर्याएको आरोप लगाएका छन् ।
‘गत १० वर्ष यसैगरी बित्यो। आजको यो समस्याको मूल कारण यही हो। अझै पनि उहाँहरूले बिदा लिनु पर्दैन? अझै पनि चेत्नु हुँदैन?’ थापाले प्रश्न गर्दै भने, ‘अब समय आएको छ, तीन दलका तीन नेताहरूलाई बिदा गर्ने र संवादको नयाँ वातावरण बनाउने।’
भदौ २५ गते सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणप्रति आफू र विश्वप्रकाश शर्माले तत्काल वक्तव्य जारी गरी भर्त्सना गरेको उल्लेख गर्दै थापाले भने, ‘भौतिक आक्रमण अस्वीकार्य हुन्छ। हामी आफैं पनि यस्ता घटनाबाट गुज्रिएका हौं।’
उनले तीनवटै दलका शीर्ष नेताहरूलाई स्पष्ट सन्देश दिँदै भने, ‘अब नो मोर भन्न सक्नुपर्छ। तपाईंहरूले छाड्नुपर्छ, घर बस्नुपर्छ। तपाईंहरू बिना पनि हामीले पार्टी चलाउँछौं भनेर भन्न सक्नुपर्छ।’
भिडियो हेर्नुहोस्-
तपाईको प्रतिक्रिया दिनुहोस