Techie IT
२०८२ असोज २८, मंगलबार

विप्लवको प्रस्ताव : जेनजी विद्रोहपछिको संकट समाधानका लागि सर्वपक्षीय अन्तरिम सरकार


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक चरित्रको सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

आइतबारदेखि कपिलवस्तुस्थित शिवगढीमा बसेको पार्टी केन्द्रीय समितिको विशेष बैठकमा महासचिव विप्लवले ‘जेनजी विद्रोह’ पछिको विषम राजनीतिक परिस्थितिको समाधानका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव पेस गरेका हुन्।

बैठकमा उनले ‘विशेष परिस्थितिको विशेष कार्यभार’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमा जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था, पार्टीको जिम्मेवारी र आगामी कार्यक्रमबारे विश्लेषण गरिएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए।

उनका अनुसार, जेनजी आन्दोलनले उठाएका माग नेकपाले विगत १० वर्षदेखि उठाउँदै आएको एजेण्डासँग मिल्ने भए पनि त्यसलाई विदेशी साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले आफ्नो स्वार्थका लागि प्रयोग गर्दा आन्दोलन विध्वंसतर्फ धकेलिएको निष्कर्ष प्रतिवेदनमा रहेको छ।

‘समस्या नेपालीको हो, मुद्दा पनि नेपालीकै हो,’ विश्वकर्माले भने, ‘तर विदेशी शक्तिहरूले त्यसलाई दुरुपयोग गरेपछि राष्ट्रियता नै खतरामा परेको अवस्था बनेको छ।’

महासचिव विप्लवले देखिएको राष्ट्रिय संकट समाधानका लागि राजनीतिक चरित्रको सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने र त्यसको नेतृत्व जनताले विश्वास गर्ने लोकप्रिय राजनीतिज्ञको हातमा हुनुपर्नेमा जोड दिएका छन्।

‘देशको समग्र समस्या समाधानका लागि लोकप्रिय नेताको नेतृत्वमा राजनीतिक चरित्रको सर्वपक्षीय अन्तरिम सरकार आवश्यक छ,’ उनले भनेका छन्, ‘राज्यको अग्रगामी पुनर्संरचना र संविधान पुनर्लेखन गर्न सकिए मात्र मूल समस्याको समाधान सम्भव छ।’

पार्टीको जिम्मेवारीबारे महासचिव विप्लवले सच्चा क्रान्तिकारी कम्युनिस्ट शक्तिबीच एकता र ध्रुवीकरणमा जोड दिएका छन्। ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यका साथ नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ,’ प्रवक्ता विश्वकर्माले भने, ‘तर यो केन्द्र यथास्थितिमा रहेका दल, संगठन र नेताबाट सम्भव छैन।’

बैठकमा विप्लवले प्रस्तुत प्रस्ताव अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएको र सोमबारदेखि छलफल सुरु हुने जानकारी विश्वकर्माले दिए। सबै सदस्यहरूले धारणा राखिसकेपछि मङ्गलबार निर्णय हुने अपेक्षा गरिएको छ।

यसअघि भदौ २३ देखि २६ गतेसम्म बसेको नियमित बैठकपछि जेनजी विद्रोहका कारण राजनीतिक अस्थिरता सिर्जना भएपछि विप्लवले विशेष बैठक आह्वान गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट