सरकार निर्वाचनको तयारी भन्दा पनि वातावरण बिगार्ने दिशामा उन्मुख - एमाले
नेकपा (एमाले) ले वर्तमान सरकार आगामी निर्वाचनको तयारी भन्दा पनि त्यसको वातावरण बिगार्ने दिशामा लागेको निष्कर्ष निकालेको छ ।
आइतबार भक्तपुरको गुन्डुमा करिब १० घण्टा बसेको सचिवालय बैठकपछि एमालेले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने, “सरकार निषेध र प्रतिशोधको बाटोमा हिँडेको छ । पार्टी र नेताहरूका गतिविधिमा रोक लगाएर सरकारले चुनावकै वातावरण बिगार्न खोजेको हाम्रो निष्कर्ष हो,” उनले भने ।
उनका अनुसार हालका घटनाक्रमहरूले मुलुक चुनाव हुने दिशातर्फ अघि बढेको देखिँदैन । “नेताहरूलाई थुनेर, दलहरूलाई धम्क्याएर चुनाव हुन सक्दैन,” ज्ञवालीले भने, “लोकतन्त्रको आत्म नै मरिरहेको छ । त्यसैले हामीले चुनाव हुने कुनै आधार देखेका छैनौँ ।”
त्यससँगै एमालेले लोकतन्त्र र संविधान पक्षधर दलहरूसँग संसद् पुनर्स्थापनाका लागि संवाद गर्ने निर्णय पनि गरेको छ । एमालेले संसद् विघटनलाई असंवैधानिक भन्दै यसको पुनर्स्थापनाको माग गर्दै आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस