Techie IT
२०८२ असोज २७, सोमबार

नाम मात्र हैन विचार पनि छोड्दै माओवादी, माओवादी–एस एकता के होला ?

घनश्याम भुसाल भने आ–आफ्नो पार्टी पुनर्गठन गरेर मात्र वामपन्थी ध्रुवीकरण सम्भव हुने पक्षमा छन्


दश वर्षिय जनयुद्धदेखि करिब दुई दशक नेपालको सत्तामा रहेको नेकपा माओवादी केन्द्रले अन्ततः आफ्नो ब्राण्ड परिवर्तन गर्न तयार भएको छ। हालै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी (एस) र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दुवै पार्टीका शीर्ष नेताहरूले नयाँ एकिकृत पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्ने वा नेकपा अगाडि राखेर  ‘समाजवादी मोडल’ को उपनाम अघि राख्ने सहमति गरेका छन्।

नाम मात्र होइन, दुवै पार्टीले आफ्नो वर्तमान चुनाव चिन्ह पनि परिवर्तन गरेर कम्युनिष्ट प्रतीक झल्कने नयाँ चिन्ह खोज्ने प्रक्रिया सुरु गरेका छन्। कानुनअनुसार पार्टी एकता भएपछि निर्वाचन आयोगमा नयाँ नाम र चिन्ह दर्ता गराउनुपर्ने व्यवस्था छ।

माओवादी केन्द्रले आफ्नो ब्राण्ड मात्र होइन, माओवादी विचारधारा पनि त्याग्ने तयारी गरेको छ। यद्यपि, माओवादी केन्द्रले एमालेसँग २०७५ सालमा एकता गर्दा नै माओवादको छोडिसकेको थियो। परम्परागत रूपमा कम्युनिष्ट पार्टी एकता हुँदा विचारधारात्मक बहस बढी हुने गरेको भए पनि माओवादी केन्द्र र एकिकृत समाजवादीको एकतामा सिद्धान्त र विचारका विषयमा त्यति धेरै छलफल नभएको देखिन्छ। शीर्ष नेताहरू अहिले पार्टी एकता मात्र गर्न हतारमा छन्।

स्रोतका अनुसार, नयाँ एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ, जुन लगभग एमालेसँग मेल खानेखालको छ। संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद रहनेछ। नयाँ पार्टीको समाजवादी कार्यक्रम र कार्यदिशा तय भइसकेको छ।

एकतापछि हुने महाधिवेशनको आयोजक समितिको संयोजक पुष्पकमल दाहाल हुनेछन्। तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुन पद दिने भन्ने टुंगो लागेको छैन; सम्भावना अनुसार उनी दोस्रो वरीयतामा रहने देखिन्छ।

दुवै पार्टीको संगठनात्मक संरचना परम्परागत बनाउने कि चुस्त बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ। एसका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले केही ‘रिजर्भेसन’ राखेका भए पनि अध्यक्ष नेपाल बहुमत पदाधिकारीको समीकरणका आधारमा माओवादीसँग एकता गर्ने तयारीमा छन्। सचिवालय बैठकले औपचारिक रूपमा माओवादीसँग पार्टी एकता गर्ने निर्णय पनि गरिसकेको छ।

माओवादी महासचिव देव गुरुङले भने, “सहमतिका लागि छलफल भइरहेको छ। जतिसक्दो छिटो सहमति भए एकता पनि छिटो हुनेछ।”

माओवादी नेतृ एवं वार्ता समितिका संयोजक रेखा शर्मालेले पार्टी एकताका विषया भनिन्, “विशेष महाधिवेशनअघि सकेसम्म पार्टी एकता गर्ने प्रयास भइरहेको छ। विशेष महाधिवेशनको तयारी र पार्टी एकताको गृहकार्य सँगसँगै भइरहेको छ।”

तर एसका महासचिव घनश्याम भुसाल भने आ–आफ्नो पार्टी पुनर्गठन गरेर मात्र वामपन्थी ध्रुवीकरण सम्भव हुने पक्षमा छन्। उनी माओवादी र समाजवादीको पुरानै नेतृत्वमा पार्टी एकताको पक्षमा छैनन्। उनले भने, “यही नेतृत्व, यही पार्टी संरचना र यही विचारमा पार्टी एकता गरेर केही हुँदैन। पहिले आआफ्नो पार्टी र नेतृत्वको पुनर्गठन गरौं, त्यसपछि वामपन्थी ध्रुवीकरण गर्नुपर्छ।”

एसका सम्मानित नेता झलनाथ खनाल पनि पार्टी एकताको विपक्षमा उभिएका छन्। माओवादीसँगको एकता स्वीकार्य नभएको भन्दै उनले फरक मत सार्वजनिक गरेका छन्। श्रीमती रविलक्ष्मीको उपचारका लागि भारतमा रहेका खनालले एक विज्ञप्ति जारी गर्दै भने, “पार्टी एकीकरण गर्ने मौसम अहिले होइन।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट