एमालेको दसौं केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु हुँदै, यस्ता छन् इजेन्डाहरू

नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरु हुँदैछ। बैठक बिहान ११ बजेबाट प्रारम्भ हुने कार्यक्रम छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको यस बैठकले पार्टीको ११औं महाधिवेशनको मिति तय गर्नेछ। यसअघि सचिवालयको ५८औं बैठकले मंसिरको अन्तिम सातामा महाधिवेशन गर्ने निर्णय गरेको भए पनि ठ्याक्कै मिति भने तोकिएको थिएन।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला राजनीतिक घटनाक्रम समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन्। सो प्रतिवेदनमा आधारित भएर केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
यस्तै, बैठकमा पार्टी पुनर्गठन र नेतृत्वसम्बन्धी विषयमा पनि छलफल हुनेछ। जेनजी आन्दोलनका घटनापछि केही केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने र घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्।
सचिवालय बैठकमा समेत ओलीको राजीनामा र पार्टी पुनर्गठनबारे सघन बहस भएको थियो। तर, ओलीले मंसिरमा महाधिवेशन गरेर नेतृत्व चयन गर्ने प्रस्ताव अघि सारेका थिए।
एमालेको दसौं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो। हालको कार्य समितिको पाँच वर्षे कार्यकाल अझै एक वर्ष बाँकी भए पनि विशेष राजनीतिक परिस्थितिका कारण महाधिवेशन अघि सारिएको हो।
केन्द्रीय कमिटी बैठकमा प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी विषय पनि प्रमुख एजेन्डा हुनेछ। सचिवालय बैठकले संसद पुनःस्थापनाको माग गर्ने निर्णय गरिसकेको छ। यद्यपि, प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी रिट सर्वोच्च अदालतमा परेपनि, एमाले आफैंले रिट हाल्ने तयारीमा भने नरहेको देखिएको छ। केन्द्रीय कमिटी बैठकले यसबारे अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ।
बैठक तीन दिनसम्म चल्नेछ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। उक्त प्रतिवेदनमा सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटनको असंवैधानिकता, प्रधानमन्त्रीको संवादहीनता, शान्ति र स्थायित्वको अभावका कारण निष्पक्ष निर्वाचनबारे आशंका जस्ता विषय समेटिएका छन्।
कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार, केन्द्रीय सदस्यहरूलाई अल्फाबेटको आधारमा बोल्ने पालो दिइनेछ र हरेक सदस्यलाई तीन मिनेटको समय प्रदान गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस