विशेष महाधिवेशनको भविष्य बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले तय गर्ने
जेन–जी आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न र पार्टीभित्र पुनर्गठनको आवश्यकता रहेको ठहर गर्दै नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउने माग गरिएको छ।
कांग्रेसका युवा नेताहरूको पहलमा विधानको धारा १७(१) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गरिएको हो।
महाधिवेशन प्रतिनिधिहरूका तर्फबाट युवा नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, सुवासकुमार पोखरेल, उज्ज्वल बराल, रमेशप्रसाद धमला, दिक्पाल शाही, भरत खड्कालगायत १७ जनाले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरिएको निवेदन बुझाएका हुन्।
निवेदनमा पार्टीको नीति, नेतृत्व र संरचना पुनर्संरचना गर्न केन्द्रीय कार्यसमितिको निर्णय मात्र अपर्याप्त भएकाले विशेष महाधिवेशनमार्फत गहिरो आत्मसमीक्षा आवश्यक भएको उल्लेख छ।
कांग्रेसका १४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि थिए। तीमध्ये निधन भएका र पार्टी छाडेकालाई हटाउँदा बाँकीमध्ये २४ सय ८८ जनाले हस्ताक्षर गरेको युवा नेता गुरुराज घिमिरेले बताए। यो कुल प्रतिनिधिको ५३.९१ प्रतिशत हो।
विधानअनुसार कम्तीमा ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएमा पार्टीले तीन महिनाभित्र महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था छ।
सभापति शेरबहादुर देउवाले मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै कार्यकारी भूमिका अन्त्य गरिसकेका छन् ।
महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधि उभिएको परिस्थितिमा देउवाले समयको मागलाई सम्बोधन गर्दै जिम्मेवारी हस्तान्तरण गरेको बताएका छन् ।
‘जेन–जी आन्दोलनको जायज मागलाई सम्बोधन गर्नुपर्ने बेला आएको छ,’ शर्माले भने, ‘अब पार्टीलाई संयम, एकता र मध्यमार्गी सोचका साथ सुधार गर्ने दायित्व हाम्रो काँधमा आएको छ।’
नेता गुरुराज घिमिरेका अनुसार नियमित महाधिवेशन गर्ने समय सकिएको वा तत्काल सम्भव नभएको अवस्थामा विशेष महाधिवेशन बोलाउन सकिन्छ।
‘यो असाधारण राजनीतिक परिस्थिति हो, पार्टीले आन्तरिक पुनर्संरचना र नीतिगत स्पष्टता ल्याउन विशेष महाधिवेशन अपरिहार्य छ,’ उनले भने।
कांग्रेसले यसअघि २०१४ सालमा पनि विशेष महाधिवेशन गरेको थियो, जसबाट बीपी कोइराला पार्टी सभापतिमा निर्वाचित भएका थिए।
विशेष वा नियमित महाधिवेशन गर्ने निर्णय भने बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ। केन्द्रीय सदस्य मधु आचार्यका अनुसार विशेष महाधिवेशनले वर्तमान राजनीतिक संकटको समीक्षा गर्दै केन्द्रीय कार्यसमितिको निर्वाचन, नीति संशोधन र संरचनागत सुधारबारे निर्णय गर्ने प्रस्ताव गरिएको छ।
युवा नेताहरूले विशेष महाधिवेशनमार्फत भदौ २३–२४ को जेन–जी आन्दोलनले देखाएको जनअपेक्षा र युवा पुस्ताको भावना सम्बोधन गर्नुपर्ने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस