सरकार मिडिया ट्रायल र चरित्र हत्या गर्न लागेको एमालेको आरोप

नेकपा (एमाले) ले सरकारले मिडिया ट्रायल गर्दै राजनीतिक दलहरूको चरित्र हत्या गर्ने कार्य गरिरहेको आरोप लगाएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै भने, “निर्वाचनको कार्यादेश पाएको सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने ठाउँमा दलहरूसँग सम्पर्क र संवाद नगरी निषेधको बाटो अपनाएको छ।”
उनका अनुसार सरकारले स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने, शान्तिपूर्ण प्रदर्शन रोक्ने र मिडिया ट्रायल गर्ने कार्यहरू गर्दै आएको छ। उनले सन्देहास्पद पात्रहरूले धम्की दिने काम पनि भइरहेको दाबी गरेका छन् ।
गौतमले अहिलेको अवस्थामा हिंसा र अपराधमा संलग्न व्यक्तिहरूलाई पूर्णरूपमा छुट दिइएको र यस्तो स्थितिमा निर्वाचनमा जाने कुनै आधार नदेखिएको पार्टीको निष्कर्ष रहेको बताए ।
उनले एमाले संसद् पुनःस्थापनाको पक्षमा जनमत बनाउने अभियान अघि बढाउने बताउँदै भने, “एमाले निर्वाचनभन्दा टाढा छैन, तर सरकारले त्यसका लागि आवश्यक वातावरण निर्माण गरेको छैन।”
गौतमका अनुसार, बैठकले २२ वटा प्रस्ताव पारित गरेको छ । साथै, उनले निर्वाचन आयोगमा सात बुँदे सुझाव दिएको जानकारी दिँदै, सरकारले निर्वाचनको वातावरण नबनाएको र पार्टीहरूसँग संवाद नगरेको आरोप दोहोर्याए।
तपाईको प्रतिक्रिया दिनुहोस