ई ईको कटाक्ष : जेनजी आन्दोलन हिंस्रक बनाउन मेयर बालेन जिम्मेवार, विदेशीको प्यादा बनेका आरोप

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक न्यायको पक्षमा उभिने अभियन्ता ई ईलाई राजनीतिमा आएर प्रधानमन्त्री बन्न चुनौती दिएकोमा, ई ईले शुक्रबार सामाजिक सञ्जालमा लामो वक्तव्य मार्फत जवाफ दिएका छन्।
ई ईले भनेका छन्, सडकमा पहिलोपटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुंगा प्रहार गराउने कार्य भएको घृणित घटना भएको भन्दै त्यसमा मेयर साह र उनका प्रतिनिधि जिम्मेवार रहेको आरोप लगाएका छन्।
उनले थपे, “महानगरका मेयर सडकमा थिएनन्, तर उनका प्रतिनिधिहरू आन्दोलनको कमाण्डमा थिए। अवश्य, यसमा उनको मात्र दोष छैन, अरु अनेक पक्षले पनि त्यस्तै गरे। तर मूल दोष त सरकार र असान्दर्भिक राजनीतिक पात्रहरूमा छ।”
ई ईले आफ्नो जवाफमा कवितात्मक शैली प्रयोग गर्दै भने, “सायद सर्वशक्तिमान् कवि यो खेलमा एउटा प्यादामात्र थिए। भूपिले लेखेका थिए नि – ‘एक मनोरञ्जक खेलका सामाग्री।’”
यसअघि मेयर साहमाथि ‘लुसिफर’ को आरोप लगाएर सामाजिक सञ्जालमा पछिल्लो घटनाको जिम्मेवार बनाउने प्रयास भएपछि, ई ईले जवाफमा उक्त घटनालाई कवितामार्फत व्याख्या गरेका हुन्।
साथै, मेयर साहमाथि प्रश्न उठाएको र सामाजिक सञ्जालमा पोष्ट गरेकोमा ई ईलाई एउटै छातामा आएर पार्टी खोल्न आग्रह समेत गरिएको थियो।
ई ई को वक्तव्य
“सबैजना एकै छाता मुनि आउनैपर्छ भन्ने सोच एकतन्त्रीय हो। जलाउनुपर्छ, गाड्नुपर्छ, समाप्त पार्नुपर्छ भन्ने आवेगात्मक र संवाद, सहअस्तित्व, समावेश हुनुपर्छ भन्ने अहिंसक सोच समाजमा प्रवाह गर्ने मानिस वा समूह स्वभाविकरूपले एक कित्तामा आउनसक्दैनन्। स्वतन्त्रता, उत्पादन, न्याय हेर्ने दृष्टिकोण फरक हुनसक्छन् र हुनुपनिपर्दछ। बालेन जी, तपाईँको / तपाईँ समर्थित नयाँ राजनीतिक दल जनजीविका सम्बन्धी र सैद्धान्तिक सवालमा कहाँ उभिन्छ भनेर हेर्न बाँकीनै छ। अनि राज्यशक्तिको आफ्नै सान्दर्भिकता भएतापनि सबैजना सत्ताकै राजनीतिमा आउनुपर्छ भन्ने पनि छैन। लोकतन्त्रको सौन्दर्यनै वैचारिक र व्यवहारिक विविधता हो।
भदौ २४ गते, सेप्टेम्बर ९ तारिखको दिन सवेरैदेखि सार्वजनिक, व्यवसायिक, र व्यक्तिगत सम्पतिको दोहन रोक्न एउटा एक मिनेटको भिडियो मात्र हाल्नु भनेर पहुँच भएका जति सबैले मुलुकको सर्वोच्च शक्तिशाली नेता तपाईँलाई त्यो दिन कति गुहारे गुहारे, तर मूर्ख अभिमानी प्रधानमन्त्रीको राजिनामा नआएसम्म जसरी सेनाको हेलिकप्टर बालुवाटार पुगेन, त्यसरीनै तपाईँको एउटा सामान्य अपील पनि सबै सोत्तर नभएसम्म आएन। किन? यस्ता जवाफदेहिता, पारदर्शिता, वैचारिक र जिम्मेवारी अभाव देखिएका अनेक प्रसङ्ग सर्वविदितै छन्।
त्यसबाहेक – सडकमा पहिलो पटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुङ्गा बर्साउने जुन घृणित कार्य भयो त्यसको समिक्षा भविष्यमा होला नै। महामेयर सडकमा थिएनन् तर उनका प्रतिनिधिले आन्दोलन कमाण्ड गरिरहेका थिए। अवश्य यसमा उनको मात्र दोष छैन। अरु अनेक पक्षले पनि त्यस्तै गरे। तर जे भनेपनि मूल दोष त सरकारकै, असान्दर्भिक भइसकेका राजनीतिक पात्रकै हो। शायद सर्वशक्तिमान् कवि यो खेलमा एउटा प्यादामात्र थिए। भूपिले लेखेका थिए नी – “एक मनोरञ्जक खेलका सामाग्री ।
यद्यपि अहिलेसम्म शहीद र घाइते परिवारसङ्ग आर्यघाटमा होस् वा अस्पतालमा आँखामा आँखा जुधाउने जुन साहसको अभाव तपाईंमा देखिएको छ, त्यो बिनाकारण होइन, नैतिकताको सङ्कट हो, भन्ने विषयमा तपाईँ स्वयंले आफूलाई ढाँट्नसक्नुहुँदैनहोला। वडाअध्यक्ष होडा र मचाराजाले आज बैठकमा दमकल परिचालनबारे 'माथिबाट आदेश छैन' भनेर नगरप्रहरीले दिएको जवाफ लगायत अन्य दुःखद् कैफियत औँल्याइहाले। अहिलेलाई सौहार्द र तपाईंको नेतृत्वमा भएको इम्प्रुभ्द डिलिभरीको कदर गर्दै यतिमै सीमित रहें। तर सत्य सधै ढाकेर ढाकिदैन।”
तपाईको प्रतिक्रिया दिनुहोस