Techie IT
२०८२ कार्तिक ५, बुधबार

प्रधानमन्त्री र राजनीतिक दलहरूसँगको पहिलो छलफलमा गृहमन्त्री अर्यालको तीव्र आलोचना


जेन–जी आन्दोलनपछि चुनावी तयारीका लागि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक राजनीतिक दलहरूसँग औपचारिक छलफलमा सहभागी नेताहरूले गृहमन्त्री ओम अर्यालका अभिव्यक्ति र व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।

बालुवाटारमा भएको संवादमा प्रधानमन्त्री कार्कीले केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई ‘पर्यवेक्षक’का रूपमा राखेकी थिइन्। 

चुनाव सम्पन्न गराउने जिम्मेवारी सम्हालेका गृहमन्त्री अर्यालले राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएका टिप्पणी र पद सम्हालेपछि देखाएका गतिविधि असंयमित भएको भन्दै नेताहरूले आलोचना गरेका थिए। उनीहरूले गृहमन्त्रीले दलमाथि “विजय हासिल गरेको जस्तो” व्यवहार देखाएको आरोप लगाएका छन्।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, छलफलमा अर्यालका “दलहरूलाई अपमान गर्ने र नेताहरूलाई होच्याउने अभिव्यक्ति” को विरोध गरिएको थियो। एमालेले सुरक्षा जोखिममा रहेका नेताहरूका सुरक्षाकर्मी फिर्ता गरिएको कदमलाई पनि गलत बताएको थियो। ज्ञवालीले भने, “गृहमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि दलहरूको आक्रोश थियो। भदौ २३ र २४ का घटनामा दोहोरो मापदण्ड अपनाइएको, भागेका कैदी र लुटिएका हतियार प्रयोग नगर्ने ग्यारेन्टी गर्नुपर्ने भन्ने उनको अभिव्यक्ति आपत्तिजनक छ भन्ने धारणा दलहरूले राखे।”

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि बैठकमा गृहमन्त्री अर्यालमाथि आलोचना भएको पुष्टि गरेका छन् । उनका अनुसार, चुनावी वातावरण बिग्रने गरी गृहमन्त्रीले गरेको व्यवहार र अभिव्यक्तिले दलहरूमा शंका उत्पन्न भएको छ। दलहरूले लुटिएका हतियार प्रयोग नगर्ने र भागेका कैदीबन्दीलाई चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, भदौ २४ को लुटपाट र आगजनीमा संलग्नहरूलाई कारबाही नगर्ने गृह मन्त्रालयको पत्र, कांग्रेस नेता दीपक खड्का र अन्य नेतासम्बन्धी गृहमन्त्रीका अभिव्यक्तिलाई लिएर पनि असन्तुष्टि व्यक्त गरिएको थियो।

त्यस्तै, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलगायतलाई काठमाडौं उपत्यका नछोड्ने प्रतिबन्धको विषयमा पनि दलहरूले आपत्ति जनाएका थिए । पाण्डेले भने, “संविधानले हिडडुलमा रोक लगाएको छैन। ओलीलाई उपत्यका नछोड् भन्ने निर्णय अनौठो छ। अपराध गरेको भए पक्राउ गर्न सकिन्थ्यो। जेन–जी आन्दोलनका युवाहरूलाई उक्साउने गतिविधिबारे पनि छलफलमा कुरा उठेको थियो।”

प्रधानमन्त्री कार्कीले सरकार चुनावको वातावरण बनाउन रातदिन खटिरहेको बताउँदै भनिन्, “चुनावको तयारीमा मन्त्रीहरू र सुरक्षा निकायहरू सक्रिय छन्। तपाईंहरूको सहयोगबिना चुनाव सफल हुन सक्दैन।”

उनका अनुसार, सरकारको मुख्य ध्येय निष्पक्ष र सफल निर्वाचन सम्पन्न गर्नु हो। बैठकमा गृहमन्त्री अर्यालले देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्दै केही दलका नेताहरूका भड्काउ अभिव्यक्तिले सुरक्षा चुनौती उत्पन्न गर्न सक्ने चेतावनी दिएका थिए।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा पनि सरकारले दलहरूसँग छलफल गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट