जेन–जी आन्दोलनका तोडफोड घटनाको प्रमाण संकलनका लागि एमालेले खोल्यो सूचना बैंक
नेकपा (एमाले) ले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडका घटनामा संलग्नहरूको पहिचानका लागि प्रमाण संकलन गर्दै सूचना बैंक स्थापना गरेको छ।
पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, देशभरका पार्टी संरचनाले संकलन गरेका भिडिओ, फोटो र अन्य प्रमाणहरू केन्द्रीय कार्यालयमा सुरक्षित रूपमा राखिनेछन्। उनका भनाइमा, तत्कालीन समयमा टिकटक, रिल र सोसल मिडिया मार्फत सार्वजनिक भएका सामग्रीहरू समेत प्रमाणका रूपमा सुरक्षित राखिने तयारी भइरहेको छ।
एमालेको केन्द्रीय कार्यालयमा विशेष डेस्क तयार पारेर सरकारी कार्यालय, प्रहरी, निजी सम्पत्ति र व्यापार प्रतिष्ठानमा भएका क्षतिका प्रमाणहरू संकलन भइरहेको पार्टीले जनाएको छ।
संगठन विभागका सचिव माधव ढुंगेलले घटनामा संलग्नहरूको पहिचान हुने प्रमाण प्रहरीसँग साझा गर्न र आवश्यक परेमा कानूनी कारबाहीका लागि उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताएका छन् ।
उनका अनुसार अहिलेको सरकारले दोषीहरूलाई कारबाही नगरे पनि भविष्यमा कुनै पनि सरकारले कानूनी प्रक्रिया अघि बढाउन सकोस् भनेर प्रमाणहरू सुरक्षित राखिँदै छ।
एमाले स्रोतका अनुसार, पार्टीले सुरक्षासम्बन्धी निकायहरूसँग पनि समन्वय गरेर ती घटनाका विषयमा विवरण संकलन गरिरहेको छ। पार्टीले सूचना बैंकमार्फत तोडफोडका घटनाको पृष्ठभूमि, संलग्न समूह र सम्भावित कारणहरूबारे पनि अध्ययन गर्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस