Techie IT
२०८२ कार्तिक १३, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै, के छन् बैठकका एजेन्डा?


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्दैछ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठकले हालसम्म विभिन्न राजनीतिक विषयमा छलफल गर्दै आएको छ। बैठक भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलन र प्रदर्शन, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको जनाइएको छ।

आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका तयारी र समयसीमासम्बन्धी विषयमा केन्द्रित भएर छलफल हुने भएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरभित्र समाप्त हुँदैछ।

यसअघि बैठकमा नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा व्यापक बहस भएको थियो। नियमित महाधिवेशन नहुने अवस्थाको तयारीस्वरूप केही नेताहरूले विशेष महाधिवेशनको मागसहित महाधिवेशन प्रतिनिधिबीच हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। उक्त अभियानमा ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको जनाइएको छ।

असोज २८ गते सुरु भएको बैठकमा सभापति देउवाले स्वास्थ्य अवस्थाका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसयता खड्काको सभापतित्वमा बैठक सञ्चालन हुँदै आएको छ।

तिहार र छठ पर्वका कारण केही दिन स्थगित बैठकले कात्तिक १ गतेको अन्तिम बैठकमा पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै आजको बैठकको मिति तोकेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट