मैले शपथ खुवाउन प्रदेश प्रमुखलाई दबाब दिएकै हो : मुख्यमन्त्री यादव
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आफूलाई होटलमा शपथ ग्रहण गराउन दबाब दिएको जानकारी सार्वजनिक गरेका छन्। आज आयोजित पत्रकार सम्मेलनमा यादवले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई दबाबमा राखेर बर्दिबासस्थित पानस होटलमा शपथ ग्रहण गराएको बताए।
यादवका अनुसार बिहीबार राति आफूलाई नियुक्तिपत्र दिइएको भए पनि प्रदेश प्रमुख उपचारका लागि काठमाडौं गएकी अवस्थामा शपथ ग्रहण हुन सकेको थिएन। त्यसपछि आफूले “कसरी भए पनि शपथ ग्रहण गराउन दबाब दिएको” उनले स्पष्ट पारेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमालेका नेता यादव कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेर कात्तिक २२ गते राजीनामा दिएपछि एमाले सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त भएको थियो।
यादवले भने, ‘मैले उहाँलाई दबाब दिएँ। दिएकै हो। यसमा म पछाडि हट्दिनँ, झुटो बोल्दिनँ। केयर टेकरमा मुख्यमन्त्री छ, नयाँ मुख्यमन्त्रीको नियुक्ति भइसक्यो। तपाईंले मलाई शपथ नखुवाइकन मेरो पद एक्टिभ हुने छैन। त्यसैले म बर्दिबास गएर पानस होटलमा प्राप्त नियुक्तिपत्र अनुसार शपथ ग्रहण गरेँ।’
उनले थपे, ‘प्रदेशमा अन्यौलको वातावरण सिर्जना हुन नदिन, उपयुक्त स्थानमा शपथ ग्रहण गराउनु मेरो प्राथमिकता थियो।’ यस विवादपछि सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। नियुक्तिमा असन्तुष्ट दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस