Techie IT
२०८२ मंसिर २, मंगलबार

अन्य नेतासँग देउवाको भेटघाट तीव्र, महामन्त्री थापालाई देउवाले भने समय छैन भाइ


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेश भ्रमणबाट फर्किएलगत्तै राजनीतिक भेटघाटलाई तीव्रता दिए पनि महामन्त्री गगन थापासँग भने संवाद गरेका छैनन्।

कात्तिक २८ गते सिंगापुरबाट फर्किएका देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र प्रवक्ता डा. प्रकाशशरण महत लगायतसँग भेटवार्ता गरिसकेका छन्। तर, पार्टीका कार्यकारी पदमा रहेका महामन्त्री थापासँग भने अहिलेसम्म भेट नभएको खुलेको छ।

डा. शेखर कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको संस्थापनइतर समूहको बैठकमा महामन्त्री थापाले सभापतिसँग आफ्नो भेट नभएको जानकारी गराएका हुन्। बैठकमा सहभागी एक नेताले भने, "सभापति देउवा र महामन्त्री थापाबीच भेट भएको रहेनछ भन्ने बैठकमा थाहा भयो, तर भेट नहुनुको कारण भने खुलेन।" पार्टीभित्रको आन्तरिक राजनीति पेचिलो बनिरहँदा सभापति र महामन्त्रीबीचको यो संवादहीनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

शेखरको सन्देश: 

'पुसभित्र महाधिवेशनको टुंगो लगाउनू' बैठकमा नेता डा. शेखर कोइरालाले भने सभापति देउवासँग आफ्नो भेट भएको जानकारी दिए। उनले देउवासँगको भेटमा पार्टी एकताका लागि यथाशीघ्र महाधिवेशनको प्रक्रिया थाल्न सुझाव दिएको बताए।

कोइरालाको भनाइ उद्धृत गर्दै सहभागी नेताले भने, "सभापतिजीसँग मेरो भेट भयो। पार्टीलाई एकढिक्का बनाएर लैजाने हो भने पुसभित्र महाधिवेशन गराउनुस् भनेको छु।"

कोइरालाले पुसभित्र नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न वा विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय समिति तयार हुनुपर्ने धारणा सभापतिसमक्ष राखेका छन्।

'नियमित नभए विशेष महाधिवेशन' संस्थापनइतर पक्षले पुसभित्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन संस्थापन पक्ष तयार नभए विधानअनुसार 'विशेष महाधिवेशन' को बाटोमा जाने निर्णय गरेको छ।

बैठकमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावना र हस्ताक्षरको विषयमा पनि छलफल भएको थियो। "शेखर दाइ र गगनजीसहित हामी सबैजना ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको अवमूल्यन हुन नहुने पक्षमा छौं। अब पुसभित्र नियमित वा विशेष महाधिवेशन हुनुपर्छ भन्ने मतलाई बलियो बनाउँदै लैजान सहमत छौं," बैठकमा सहभागि एक नेताले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट