अखिल (क्रान्तिकारी)का महासचिव रोशन थापा मगरले दिए राजीनामा
तत्कालिन नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का महासचिव रोशन थापा मगरले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा फेसबुकमा स्टाटस लेख्दै सार्वजनिक गरेका हुन्। उनले 'जेनजी आन्दोलन' पछि माओवादी केन्द्रले समसामयिक राजनीतिक आवश्यकता पूर्ति गर्न नसकेको आरोप लगाएका छन्।
मगरले पछिल्लो १४ वर्षदेखि काम गर्दै आएको संगठन र पार्टीबाट अलग भएको घोषणा गर्दै, विशेषगरी भदौ २३-२४ गतेको परिस्थितिलाई मध्यनजर गरेको बताएका छन्। उनले आफ्नो निष्कर्ष प्रस्तुत गर्दै भने "भाद्र २३-२४ गते पछिको परिस्थितिमा, आम नेपाली जनताले मागेको रुपान्तरण, हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचनाबाट सम्भव छैन भन्ने निष्कर्षमा म पुगेको छु।"
आफ्नो जीवनको महत्त्वपूर्ण १६ देखि ३० वर्षको उमेर संगठनमा बिताएको उल्लेख गर्दै उनले राजीनामाको निर्णयलाई राजनीतिमा सामान्य रूपमा लिएको बताएका छन्। उनले आफ्नो राजनैतिक चेतना र सामाजिक पुँजी निर्माणका लागि अखिल (क्रान्तिकारी)का सम्पूर्ण अग्रज, मार्गदर्शक र सहकर्मीहरू प्रति हृदयदेखि आभार व्यक्त गरेका छन्।
उनले कक्षा समिति सदस्यदेखि इकाई उपाध्यक्ष/अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै महासचिवसम्मको यात्रामा साथ, सहयोग र समर्थन दिने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन्। उनका लागि २०७३ सालमा पुल्चोक क्याम्पसको स्ववियू सभापतिमा र हालै संगठनको केन्द्रीय महासचिवमा निर्वाचित हुन पाउनु सबैभन्दा महत्वपूर्ण क्षण रहेको बताएका छन्।
"पछिल्लो समय हेडक्वार्टर भन्दै पार्टी अध्यक्षलाई भ्रममा पार्दै एउटा झुण्डले गरेको निच व्यवहारका बीच पनि पार्टीमा सदैव अभिभावकत्व गर्नुहुने आदरणीय दिदीहरु पम्फा भुषाल र जयपुरी घर्ति प्रति विशेष धन्यवाद प्रकट गर्दछु।" थापाले भने
आफ्नो कार्यसम्पादनका क्रममा भएका कुनै पनि त्रुटि वा कमीका लागि क्षमा माग्दै रोशन थापा मगरले आगामी राजनीतिक यात्रा जनार्दन शर्मा नेतृत्वको "प्रगतिशील राष्ट्रिय अभियान" मार्फत अघि बढाउने जानकारी दिएका छन्। यो अभियान पूर्व अर्थमन्त्री जनार्दन शर्माको अगुवाइमा गठित नयाँ राजनीतिक शक्ति हो।



तपाईको प्रतिक्रिया दिनुहोस