Techie IT
२०८२ मंसिर ६, शनिबार

चन्दा आतंक मच्चाउँदै दुर्गा प्रसाई

विभिन्न बैंकका करिब आधा दर्जन सिइओहरूले प्रसाईंको समूहबाट पत्र र मौखिक रूपमा चन्दाको माग आएको पुष्टि गरेका छन्।


शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पक्राउ पर्नुअघि विभिन्न धर्मगुरू र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग आन्दोलनका लागि आर्थिक सहयोग मागेको खुलेको छ।

'हिमाल न्यूज' ले सार्वजनिक गरेको एक भिडिओमा प्रसाईंले केही दिनअघि धार्मिक गुरूहरूको आश्रममै पुगेर आफ्नो आन्दोलन र आर्थिक सहायताबारे छलफल गरेको देखिन्छ। भिडिओमा माला लगाएर बसेका प्रसाईंले 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' का नाममा भइरहेको आन्दोलनका लागि सहयोगको अपिल गरेका छन्।

नेपालको राष्ट्रियता र हिन्दु धर्म खतरामा परेको भन्दै उनले त्यसको रक्षाका लागि धर्मगुरूहरूसँग सहयोग मागेका हुन्। "यो आन्दोलनलाई सहयोग गर्न तपाईंहरू के गर्न सक्नुहुन्छ? बिनापैसा आन्दोलन सम्भव छैन। यो मेरो अन्तिम लडाइँ हो," प्रसाईंले भिडिओमा भनेका छन्, "मलाई लडाइँका लागि बन्दुक वा गोलीगठ्ठा होइन, पैसा चाहिएको छ। यो रकम व्यक्तिगत प्रयोजनका लागि नभई देश जोगाउन मागेको हुँ।"

उनले आन्दोलनमा ऐक्यबद्धता जनाउन देशभरका साधुसन्तलाई बोलाइदिन समेत धर्मगुरूहरूसँग आग्रह गरेका छन्। आफूलाई 'गेरूवस्त्र बिनाको जोगी' र 'दुर्गा माताको भक्त' बताउँदै उनले भनेका छन्, "मैले पाथीभरा मातासँग आफ्ना सन्तानका लागि केही मागिनँ, केवल व्यवस्था र संविधान परिवर्तन गर्ने शक्ति मागेँ। यदि व्यवस्था परिवर्तन भएन भने मुख देखाउन आउँदिनँ भनेर संकल्प गरेको छु।"

बैंकका सिइओहरूसँग पनि सहयोगको माग

प्रसाईंले धर्मगुरूहरूसँग मात्र नभई विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी (सिइओ) हरूसँग पनि चन्दा माग गरेको पाइएको छ।

विभिन्न बैंकका करिब आधा दर्जन सिइओहरूले प्रसाईंको समूहबाट पत्र र मौखिक रूपमा चन्दाको माग आएको पुष्टि गरेका छन्। "उहाँहरूले पत्र नै पठाएर आर्थिक सहायता माग्नुभएको छ," एक सिइओले भने।

अर्का एक सिइओका अनुसार, प्रसाईंले पक्राउ पर्नुअघि मौखिक कुराकानी गर्दै भनेका थिए, "तपाईंहरूले विगतमा कांग्रेस र एमालेलाई आर्थिक सहयोग गर्नुभयो, अब मलाई पनि सहयोग गर्नुपर्‍यो।" बैंकको ऋण मिनाहाको माग राख्दै आएका प्रसाईंले आफू बैंकविरूद्ध नभई संविधानविरूद्ध लडिरहेको तर्क सिइओहरूसँग गरेका थिए।

यो विषयलाई बैंकर्स संघको आगामी बैठकमा उठाउने तयारी सिइओहरूले गरेका छन्। यद्यपि, केही उद्यमी तथा व्यवसायीहरूले भने प्रसाईंले आफूहरूसँग चन्दा नमागेको बताएका छन्।

पछिल्लो समय प्रसाईंले देश गृहयुद्धमा जान लागेको भन्दै रासनपानी जोहो गर्न सर्वसाधारणलाई त्रसित बनाउने र उत्तेजक अभिव्यक्ति दिँदै आएका थिए। सामाजिक सञ्जालमार्फत आधारहीन र भ्रमपूर्ण सूचना फैलाएको तथा विशिष्ट व्यक्तिहरूमाथि लाञ्छना लगाएको आरोप उनीमाथि छ।

विशेषगरी प्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिहरूप्रति गालीगलौजपूर्ण अभिव्यक्ति दिएपछि शान्ति सुरक्षा कायम गर्न उनलाई पक्राउ गरिएको हो। साइबर अपराधको कसुरमा समेत यसअघि पक्राउ परिसकेका प्रसाईं समातिएको यो चौथोपटक हो। सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट