युक्रेनलाई चन्दा दिएको आरोपमा रुसी आईटी विज्ञलाई १३ वर्ष जेल
युक्रेनी अभियानलाई आर्थिक सहयोग पुर्याई आतङ्कवाद लाई प्रोत्साहन गरेको आरोपमा रुसको सैन्य अदालतले एक जना उच्च तहका आईटी विशेषज्ञलाई १३ वर्षको जेल सजाय सुनाएको छ। विश्व प्रसिद्ध क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्स (Binance) ले रुसी अनुसन्धानकर्ताहरूलाई उनको चन्दासम्बन्धी सम्पूर्ण कारोबार विवरण उपलब्ध गराएपछि अदालतले यो कडा फैसला सुनाएको हो।
सोमबार मस्कोस्थित दोस्रो पश्चिमी जिल्ला सैन्य अदालतले ४९ वर्षीय युरी बेलेन्कीलाई दोषी ठहर गरेको हो। अदालतको विज्ञप्तिअनुसार उनले सुरुको ३ वर्ष साधारण जेलमा र त्यसपछिको १० वर्ष कडा खालको सुधार गृह (Penal Colony) मा बिताउनुपर्नेछ। रुसी सरकारी समाचार संस्था तासका अनुसार डीहाउस (DiHouse) नामक कम्पनीका पूर्व आईटी निर्देशक रहेका बेलेन्कीलाई अदालतले ५ लाख रुबल (करिब ६ हजार ३ सय अमेरिकी डलर) जरिवानासमेत गराएको छ।
मस्को भ्रमणका क्रममा पक्राउ
बुल्गेरियाको आवासीय अनुमतिपत्र (Residence Permit) रहेका बेलेन्कीलाई गत वर्षको सेप्टेम्बरमा मस्को भ्रमणका क्रममा नियन्त्रणमा लिइएको थियो। उनले आफूमाथि लगाइएका सबै आरोपहरू अस्वीकार गरेका छन्। उनका वकिलले यस फैसलाविरुद्ध उच्च अदालतमा अपिल गर्ने बताएका छन्।
आरआईए नोभोस्तीका अनुसार बेलेन्कीले अगस्ट २०२२ देखि मार्च २०२४ को अवधिमा युक्रेनको सशस्त्र बल र रुसले आतङ्ककारी घोषित गरेको आजोभ बटालियनका लागि १५ पटक गरी १ लाख २० हजार रुबल (करिब १ हजार ५ सय अमेरिकी डलर) भन्दा बढीका क्रिप्टोकरेन्सी ट्रान्सफर गरेका थिए। उनले रुसी पत्रकार तथा क्रेमलिनका आलोचक अर्कादी बाब्चेन्कोले सार्वजनिक गरेको भुक्तानी विवरण प्रयोग गरेर उक्त रकम पठाएको पाइएको छ। यससँगै बेलेन्कीलाई रुसी वित्तीय अनुगमन एजेन्सीको आतङ्ककारी र अतिवादी सूचीमा राखिएको छ।
बाइनान्सको विवरण नै बन्यो मुख्य प्रमाण
रुसी प्रहरीका कागजातहरूअनुसार बाइनान्सले रुसी अधिकारीहरूको अनुरोधमा बेलेन्कीको कारोबार विवरण बुझाएको थियो। राजनीतिक मुद्दाहरूमा कानुनी सहयोग गर्दै आएको अधिकारवादी संस्था फर्स्ट डिपार्टमेन्टका वकिल येभगेनी स्मिरनोभका अनुसार बाइनान्सले दिएको उक्त विवरण नै बेलेन्कीविरुद्धको अभियोग प्रमाणित गर्ने मुख्य प्रमाण बनेको छ।
यद्यपि, अदालतमा बचाउ पक्षले उक्त तथ्याङ्क साँच्चै बाइनान्सबाटै आएको हो वा होइन भनी प्रश्न उठाएको छ। सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमण र त्यसपछि लागेको पश्चिमी प्रतिबन्धपछि बाइनान्स सन् २०२३ मा रुसी बजारबाट बाहिरिइसकेको छ।
यस विषयमा प्रतिक्रिया दिँदै बाइनान्सले आफूले कुनै पनि देशको कानुन नबनाउने वा लागू नगर्ने र कानुनी कारबाहीका क्रममा सरकारले विवरण कसरी प्रयोग गर्छ भन्नेमा आफ्नो नियन्त्रण नहुने स्पष्ट पारेको छ। क्रिप्टो नियमनका विज्ञ वकिल माइक बाइस्ट्रोभले भने बेलेन्कीसँग बुल्गेरियाको आवासीय अनुमति रहेकाले युरोपेली सङ्घ (EU) को डाटा संरक्षण कानुनअनुसार बाइनान्सले विवरण नदिनुपर्ने तर्क गरेका छन्।
फर्स्ट डिपार्टमेन्टका अनुसार सन् २०२५ मा रुसमा दायर भएका देशद्रोह र जासुसीसम्बन्धी मुद्दाहरूमध्ये करिब १० प्रतिशत युक्रेनी सङ्गठनहरूलाई दिइएको चन्दासँग सम्बन्धित छन्। रुसी अधिकारीहरूले बैंक भुक्तानीका साथै क्रिप्टोकरेन्सी कारोबारलाई समेत सूक्ष्म ढङ्गले ट्रयाक गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस