Techie IT
२०८३ कार्तिक ९, आइतबार

कोजाग्रत पूर्णिमा मनाइएसँगै आजदेखि १५ दिन लामो बडादसैँ समापन


नेपालीहरूको महान् पर्व दुर्गा पक्ष अर्थात् बडादसैँ आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी विधिवत् रूपमा समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको १५ दिन लामो दसैँ पर्व आज साँझ रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गरेपछि समाप्त हुन्छ।

आजका दिन बिहान घटस्थापनाका अवसरमा राखिएका दसैँका फूलप्रसाद र जमरा नजिकका नदी, तलाउ, पोखरी वा धार्मिक तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकी 'अखिल बलि पूर्ति' नभएसम्म देवीको प्रसादका रूपमा दसैँको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्ने भक्तजनको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मीले प्रवेश गरी धन र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ। माता दुर्गाका तीन मुख्य रूप (महाकाली, महालक्ष्मी र महासरस्वती) मध्ये आज महालक्ष्मीको विशेष पूजा गर्दै दुर्गा पक्षलाई बिदा गरिन्छ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको विशेष आराधना गरिने भएकाले यो पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ। आज दसैँको समापन भएसँगै भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने परम्परा छ। यस दिनलाई दसैँ बिदाको अन्त्य र नेपालीहरूको अर्को ठूलो पर्व तिहारको पूर्वतयारीका रूपमा समेत लिने गरिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट