लुते गृहमन्त्रीका कारण अराजकता फैलियो - प्रभु साह
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई योजनाबद्ध रूपमा नियन्त्रित अस्थिरता तर्फ धकेलेको आरोप लगाएका छन्।
आज शनिबार सिन्धुपाल्चोकको चौतारामा सम्पन्न आजपा जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले जेन - जी आन्दोलनका मर्म, भावना र उद्देश्यमा दुवै नेतृत्वले प्रहार गरेको दाबी गरेका छन् । साहले भने, “जेन–जी आन्दोलन युवाको थियो, तर सुशीला, अर्याल र कुलमानले हाईज्याक गरे।” उनका अनुसार भदौ २३ गतेको जेन - जी आन्दोलन वास्तविक जनआक्रोश थियो, तर भदौ २४ मा सुशीला कार्की, ओमप्रकाश अर्याल र कुलमान घिसिङको आकस्मिक सडक उपस्थिति नै आन्दोलनको नेतृत्व युवाबाट टाढिने मुख्य कारण बन्यो।
नेता शाहले वर्तमान सरकारका गृहमन्त्रीलाई “लुते” को उपमा दिंदै एमाले लगायतका राजनीतिक समूहले अराजक गतिविधि सञ्चालन गर्न सहज भएको आरोप लगाएका छन् । उनले थप भने “लुते गृहमन्त्री भएकै कारण एमालेका हिंसात्मक गतिविधि नियन्त्रण हुन सकेको छैन। लुटिएका हतियार फिर्ता नआउनु, फरारबन्दी समाउन नसक्नु, जेन–जी आन्दोलनमा दमन गर्नेहरूलाई बयान लिन नसक्नु लगायत यी सबै कमजोरीले गृहमन्त्रीको राजीनामा माग न्यायोचित देखिन्छ ।”
साहले भदौ २३ को दमन–हत्या प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि बयान लिन नसक्नु सरकारकै कमजोरी भएको उल्लेख गरेका छन् । “रवि लामिछानेलाई सिंहदरबार बोलाएर बयान लिन सक्ने सरकारले भदौ २३ का दोषीमाथि किन कारबाही गर्न सकेन ?” भन्दै उनले प्रश्न उठाएका छन् ।
कुलमान घिसिङमाथि पनि कडा टिप्पणी
साहले मन्त्री कुलमान घिसिङले निर्दलीय सरकारमै बसेर नयाँ दल खोलेको विषयमा पनि प्रश्न उठाएका छन् । उनले भने, “राजनीति गर्ने हो भने जेन–जी आन्दोलनअघि नै दल खोल्नु पर्थ्यो, अहिले किन खोलेको ? दल खोल्ने प्रवृत्ति अब चुनावी फेशन जस्तै बनेको शाहले बताए ।
साहले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि तीव्र आलोचना गर्दै भने, “ओली अहिले दिनदिनै सडकमा नाटक गरिरहेका छन्। राज्यसत्ताबाट पछारिएका उनी अब पार्टी सत्ताबाट समेत हटाइने डरले तमासामै लागेका छन्।”
उनले ओलीको दमनकारी भूमिकाले देशलाई मुठभेडतिर धकेलेको आरोपसमेत लगाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस