Techie IT
२०८२ मंसिर १०, बुधबार

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा अध्यक्ष ओलीलाई ‘अभिभावक’ बन्न आग्रह

पोखरेलले भदौ २३ गते ‘जेनजी’ (नव पुस्ता) ले सुशासनको माग गर्दै गरेको आन्दोलनप्रति सम्मान व्यक्त गरेका छन्।


नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। आज मंगलबार एक विस्तृत विज्ञप्ति जारी गर्दै पोखरेलले आफू अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट पारेका हुन्।

यसअघि सचिवालयको ६० औं बैठकमा समेत उनले अध्यक्ष पदमा आफ्नो दाबी पेस गरेका थिए। बैठकमा पोखरेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनेका थिए, “म अध्यक्षका लागि योग्य छु, तपाईंले मलाई सहयोग गर्नुहोस् र अभिभावकीय भूमिकामा बस्नुहोस्।”

पोखरेलको उक्त प्रस्तावमा अध्यक्ष ओलीले नवौं र दसौं महाधिवेशनको स्मरण गराउँदै मिलेर जानुपर्ने बताएका थिए। ओलीले नवौं महाधिवेशनका प्रतिस्पर्धी माधवकुमार नेपालले पार्टी छाडेको र दसौं महाधिवेशनमा प्रतिस्पर्धा गरेका भीम रावल पार्टीबाट बाहिरिनुपरेको दृष्टान्त सुनाएका थिए। तर, पोखरेलले भने पार्टीको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

नेतृत्वमा दुई कार्यकाल र आन्तरिक लोकतन्त्र पोखरेलले पार्टी विधानमा ‘मुख्य नेतृत्वमा दुई कार्यकाल’ को प्रावधान पुनर्स्थापित गरिनुपर्ने प्रस्ताव अघि सारेका छन्। नवौं महाधिवेशनमा लागू भएको यो नियम सौराहा महाधिवेशनबाट हटाइएको थियो। यद्यपि, ७३ वर्ष पुगिसकेका पोखरेलले ७० वर्षे उमेर हदबारे भने विज्ञप्तिमा केही उल्लेख गरेका छैनन्।

उनले ‘विधि, समन्वय, सामूहिकता र सहकार्य’ मा आफ्नो विश्वास रहेको बताउँदै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको जिकिर गरेका छन्। साथै, पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने र ‘नीतिमा आबद्धता: संगठनमा स्वायत्तता’ को नीति लागू गर्नुपर्नेमा जोड दिएका छन्।

‘जेनजी’ आन्दोलन र सरकारसँग चुनावको माग वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौ २३ गते ‘जेनजी’ (नव पुस्ता) ले सुशासनको माग गर्दै गरेको आन्दोलनप्रति सम्मान व्यक्त गरेका छन्। तर, भदौ २४ गते भएको घुसपैठ र विध्वंसको भने उनले निन्दा गरेका छन्।

उनले भने, “दुवै दिनका घटनाका बारेमा निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषी उपर कारबाही गर्न माग गर्दछु।” उनले वर्तमान राजनीतिक परिस्थितिमा सुधार ल्याउन र लोकतान्त्रिक प्रक्रिया पुनर्बहाली गर्न सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित चुनावको वातावरण बनाउनुपर्ने मागसमेत राखेका छन्।

विद्या भण्डारीलाई पार्टीमा फर्काउने प्रस्ताव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी राजनीतिमा फर्काउनुपर्ने प्रस्ताव गरेका छन्। चार दशक लामो योगदान गरेकी र राष्ट्रपति जस्तो गरिमामय पद सम्हालिसकेकी भण्डारीको अनुभवलाई पार्टीले उपयोग गर्नुपर्ने उनको भनाइ छ। “उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक र सांगठनिक रूपले घाटा पुग्छ। तसर्थ, उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ,” पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘जबज’ को समीक्षा र पार्टी पुनर्गठन जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्दै आएका पोखरेलले विगत ३३ वर्षको अभ्यासको समीक्षा गर्नुपर्ने बताएका छन्। उनले महाधिवेशनपछि पार्टी स्कुल विभाग र नीति अध्ययन प्रतिष्ठानमार्फत देशव्यापी बहस चलाउने प्रतिबद्धता जनाएका छन्।

उनले ११ औं महाधिवेशनलाई पार्टी पुनर्गठनको आधार बनाउँदै सक्षम नेतृत्व चयन गर्न र पार्टीलाई ‘थिङ्क ट्याङ्क’ मार्फत सञ्चालन गर्न प्रस्ताव गरेका छन्। आगामी मंसिर १३ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा सक्रिय र विवेकपूर्ण सहभागिताका लागि उनले कार्यकर्तालाई आह्वानसमेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट