नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै
नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को आज बैठक बस्दैछ। पार्टीले आगामी २६ - २८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक सुरु हुने जानकारी समितिका सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले दिएका छन्।
रसाइलीका अनुसार बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका लागि आवश्यक कार्य अघि बढाउने योजना बनाइनेछ। उनले भने, “पार्टीको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार सदस्यता नवीकरण र नयाँ वितरणमा देखिएको सहजता र उदारतालाई तलसम्म पुर्याउने विषयमा छलफल हुनेछ।”
समितिले अहिलेसम्म भएका क्रियाशील सदस्यता सम्बन्धी कामहरूलाई लिपिबद्ध गर्दै प्राविधिक पक्षलाई सहज बनाउने व्यवस्था पनि गर्नेछ ।
कांग्रेसले आसन्न १५औँ महाधिवेशनलाई सदस्यता विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ गठन गरेको थियो। समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन्।
महामन्त्री थापाले १८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरेको प्रतिवेदन अनुसार झण्डै ९ लाख क्रियाशील सदस्यमध्ये करिब ३ लाखले मात्र सदस्यता नवीकरण गरेको बताएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस