जेनजी विध्वंसमा घर जलाउनेलाई प्रहरीले पक्राउ गर्नु गलत भैरहेको छ - सुमना श्रेष्ठ
जेनजी आन्दोलनका क्रममा प्रहरीको मृत्यु, हतियार लुटपाट र चौकी जलाइएजस्ता घटनालाई “आक्रोशको प्रतिक्रिया” भन्दै सामान्यीकृत रुपमा व्याख्या गरेकी छन्
जेनजी आन्दोलनका क्रममा आगजनी गराउन उक्साउनेदेखि सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारले निर्णायक भूमिका खेलेकी रास्वपाकी तत्कालीन सांसद सुमना श्रेष्ठले वर्तमान सरकारले नियतमाथि नै प्रश्न उठाउँदै विस्तृत वक्तव्य सार्वजनिक गरेकी छन्।
रास्वपा परित्याग गरी हाल उज्यालो नेपाल पार्टीसँग नजिकिएकी पूर्व मन्त्री श्रेष्ठले प्रहरीले जेनजी आन्दोलनमा संलग्नहरूमाथि ‘बदला लिने शैलीमा’ कारवाही अघि बढाएको आरोप लगाएकी छन्।
प्रहरीले भदौ २४ गते सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट, आगजनी तथा हतियार लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्दै मुद्दा दर्ता गरिरहेकोमा उनले असन्तुष्टि प्रकट गरेकी हुन्। प्रधानमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा ‘जेनजी आन्दोलनका स्टेकहोल्डर’का रूपमा खुलेर सहभागी रहेकी सुमना पछिल्लो समय सरकारप्रति असन्तुष्ट हुँदै गएको उनको वक्तव्यले देखाउँछ।
वक्तव्यमा उनले लेखेकी छन्, “हामीमध्ये कतिलाई लाग्ला भदौ २३ को दमनका कारण सरकार ढल्यो, तर भ्रम नहोस् भदौ २४ को विध्वंसपछि हेलिकप्टरमार्फत भाग्नुपर्ने स्थिति आएपछि मात्र ओलीले पद छाडेका हुन्। यदि आफ्नै ज्यानमाथि खतरा नपरेको भए, अस्तिको राजावादी आन्दोलन वा मधेस आन्दोलनमा जस्तै दमन गर्ने नियत स्पष्ट थियो। भदौ २४ मा जनताको आक्रोश मात्र थिएन, अन्य स्वार्थ समूहको घुसपैठ पनि थियो। राज्यले त्यस्तो अवसर दिनु हुँदैनथ्यो; यदि आमजनताको हितमा काम भएको भए त्यस्ता समूहहरू बलिया हुने सम्भावना नै हुँदैनथ्यो।”
उनका अनुसार सामाजिक सञ्जालमा स्टाटस लेखेकै आधारमा, कतै दिएको अभिव्यक्तिका आधारमा, वा फोटोमा देखिएको कारणले सर्वसाधारणमाथि मुद्दा दर्ता गर्ने क्रम बढ्दो छ। उनले भनिन्, “यीमध्ये ‘माथि’को संरक्षण भएकाहरू सजिलै उम्कन्छन्, तर आम जनताले मुद्दा टुंगो नलागेसम्म हैरानी भोग्नुपर्छ।”
श्रेष्ठले राज्यका निकायमाथि समेत आक्रमण भएको स्वीकार गर्दै त्यसका पृष्ठभूमि पनि बुझिनुपर्ने बताएकी छन्। “दशकौँको कुशासन, भर्खरै युवामाथि टाउको र छातीमा लक्षित गोली प्रहार भएको दृश्य, अनि नेताहरूका भड्काउने अभिव्यक्ति यी सबैले नागरिकमा आक्रोश बढाएको हो। नैतिक जिम्मेवारी लिनुपर्नेहरू नछुनु र शक्तिहीनमाथि मात्रै बदला लिने शैलीमा कारवाही गर्नु न्यायसंगत होइन,” उनले भनिन् ।
सुमना श्रेष्ठले नागरिकको पीडा पहिचान गर्नुको साटो राज्यका निकायहरूले आफूमाथि भएको हिंसाको बदला लिन खोजेको आरोप लगाएकी छन्। उनले जेनजी आन्दोलनका क्रममा प्रहरीको मृत्यु, हतियार लुटपाट र चौकी जलाइएजस्ता घटनालाई “आक्रोशको प्रतिक्रिया” भन्दै सामान्यीकृत रुपमा व्याख्या गरेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस