जेन–जी आन्दोलनपछि किन आए भारतीय वरिष्ठ अधिकारी?
नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपाल–भुटान मामिला हेर्ने (नर्थ डेस्क प्रमुख) मुनु महावारले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। मुनु आइतबार काठमाडौं आएका हुन्।
जेन–जी आन्दोलनपछि औपचारिक भ्रमणका लागि नेपाल आउने उनी भारतका पहिलो वरिष्ठ अधिकारी हुन्। यसअघि नेपालबाट भने विभिन्न मन्त्री र अधिकारीहरूले भारतका उच्च तहसँग भेटघाट गरिसकेका छन्।
प्रधानमन्त्री कार्कीसँगको भेटमा आगामी निर्वाचनमा भारतबाट हुनसक्ने सहयोगलगायत द्विपक्षीय विषयहरूमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयसमेत सम्हालिरहेकी कार्कीसँगको भेटमा महावारले २१ फागुनमा हुने निर्वाचन तथा नेपालको समग्र लोकतान्त्रिक प्रक्रियामा भारत सहयोगी रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
‘प्रधानमन्त्रीसँग उहाँको शिष्टाचार भेटवार्ता थियो। त्यहाँ द्विपक्षीय हितका विषय, विकास साझेदारी तथा भारतीय सहयोगमा सञ्चालित आयोजनाहरूको प्रगतिबारे समेत समीक्षा भयो,’ रावलले भने, ‘नेपालमा हुन गइरहेको निर्वाचनका सेरोफेरोमा पनि विस्तृत कुराकानी भयो।’
भारतले यसअघि नै निर्वाचनका लागि आवश्यक पर्ने सहयोगसूची नेपालसँग मागिसकेको छ। परराष्ट्र मन्त्रालयमार्फत ६ सयभन्दा बढी सवारीसाधन तथा अन्य सुरक्षा–सम्बन्धी सामग्री सहयोगका लागि आग्रह गरिएको स्रोतले जनाएको छ। ‘भारतले चुनावका लागि के–कस्तो सहयोग आवश्यक पर्छ भनेर पहिल्यै सोधेको थियो। त्यसपछि परराष्ट्रमार्फत लामो सूची पठाइएको छ,’ स्रोतले भन्यो, ‘मुख्य रूपमा प्रहरीका लागि सुरक्षा सामग्री तथा सवारीसाधनको माग गरिएको छ। तीमध्ये कति र कुन–कुन सामग्री आउने हो, अझै सुनिश्चित भएको छैन तर सहयोग आउने प्रतिबद्धता भने प्राप्त भएको छ।’
महावारले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, सिँचाइ तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा (जसले कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्) र सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। ती भेटहरूमा पनि महावारले नेपालको निर्वाचनमा भारत सहयोगी रहने बताएका छन्। यस्तै, परराष्ट्र सचिव अमृत राईसँग पनि औपचारिक भेटवार्ता भएको छ।
महावारको नेपाल आगमनलाई कार्की नेतृत्वको सरकारसँग सम्बन्ध सुदृढ गर्ने भारतको कूटनीतिक प्रयासका रूपमा व्याख्या गरिएको छ। एक उच्च अधिकारीका अनुसार, ‘जेन–जी आन्दोलनपछि बनेको सरकारसँग संवाद मजबुत बनाउन, सरकार तथा चुनावी प्रक्रियाबारे भारतको पूर्ण सहयोग रहने सन्देश दिन नै यो भ्रमण केन्द्रित रहेको बुझिन्छ। साथै, नियमित परियोजनाहरूको समीक्षा तथा चुनावी तयारीको यथार्थ स्थलगत जानकारी लिनु पनि उद्देश्य हो।’
तर परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर क्षेत्रीले भने महावारको भ्रमणलाई नियमित प्रक्रिया भएको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस