Techie IT
२०८२ मंसिर २५, बिहीबार

एमालेभित्रको विवादबारे रावलको प्रतिक्रिया : ‘मेरो नाम विधि र सिद्धान्तको प्रतीक बनेकोमा खुशी छु’


नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले एमालेभित्र पछिल्ला दिनमा आफूजस्तै अवस्थाको चर्चा भइरहेका टिप्पणीहरू प्रति प्रतिक्रिया जनाएका छन्। उनले बुधबार फेसबुकमा स्टाटस लेख्दै एघारौँ महाधिवेशनको सन्दर्भमा आफ्नो नाम बारम्बार लिनुले आफू प्रसन्न भएको उल्लेख गरेका छन्।

डा. रावलले लेखेका छन्, “एमालेको एघारौँ महाधिवेशनको सन्दर्भमा कतिपय नेताहरूले मेरो नाम विधि, पद्धति, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, आत्मसम्मान र दृढताको पर्यायका रूपमा प्रस्तुत गरेको पाएँ। यसले मलाई खुशी बनाएको छ।”

उनले आफूले दशौँ महाधिवेशनका क्रममा तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको निरंकुश, स्वेच्छाचारी र सिद्धान्तहीन क्रियाकलापविरुद्ध आवाज उठाएको पनि स्मरण गराएका छन्। अहिले पनि एमालेभित्र केही नेताहरूले त्यही प्रकारको आवाज उठाएको देखिएको रावलको भनाइ छ। तर, उनले आफूले उठाएको मुद्दालाई केहीले गलत अर्थ्याएर पार्टी छोडेको भ्रामक प्रचार गरिरहेको आरोप लगाएका छन् । 

उनले भने, “ मैले कहिल्यै पनि पार्टी छोडेको छैन। बरु एमालेलाई विधि, प्रणाली र राष्ट्रिय हितअनुसार अघि बढाउन निरन्तर आग्रह गरेँ। यही आग्रहका कारण ओली समूहले स्वेच्छाचारी ढंगले मेरो पार्टी सदस्यता खाएको हो।”

रावलले अहिले पनि एमालेभित्र ‘सत्य र न्यायका पक्षधर नेता तथा कार्यकर्ताले महाधिवेशनमार्फत पार्टीलाई निरंकुश, सिद्धान्तहीन र अहंकारी नेतृत्वबाट मुक्त गर्न भूमिका खेल्न सक्ने’ विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, यस्तो परिवर्तन हुन सके देश, जनता तथा नेपालका कम्युनिस्ट राजनीति एकताबद्ध र सबल हुन मद्दत पुग्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट