Techie IT
२०८२ मंसिर २५, बिहीबार

जेनजी उम्मेदवार दीपेन्द्रलाई देउवाको ‘आशीर्वाद’


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले देशभरिबाट सम्भावित उम्मेदवारहरूको सिफारिस केन्द्रमा पठाउने क्रम जारी छ। जेनजी आन्दोलनपछि उत्पन्न दबाबका कारण प्रमुख दलहरूमा जेनजी समूहका उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने माग बढ्दो छ। कांग्रेसभित्र पनि जेनजी पुस्ताका युवा नेताहरुलाई समावेश गर्नुपर्ने विषयमा व्यापक बहस चलिरहेको छ।

यसै क्रममा दुर्गम जिल्ला बझाङबाट नेपाली कांग्रेस जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। केन्द्रीय समितिको परिपत्रअनुसार बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि सत्यराज भण्डारी, अभिषेक बहादुर सिंह, नरेश बहादुर सिंह, सुरेश मल्ल, जगतप्रसाद जोशी, प्रकाश स्नेही, नारायण हमाल, केशवराज जोशी र दीपेन्द्र जोशीको नाम सिफारिस गरेको हो।

कांग्रेसका युवा नेता दीपेन्द्र जोशी जेनजी आन्दोलनको भावना सम्बोधन गर्न उम्मेदवारी जेनजी समूहकै व्यक्तिहरूलाई दिनुपर्ने धारणा राख्छन्। त्रिचन्द्र क्याम्पसबाट विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका जोशी नेपाल विद्यार्थी संघ त्रिचन्द्र सचिव, नेपाल वातावरण समाजका केन्द्रीय सदस्य तथा युवा संस्था संजालका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका छन्। उनी हाल नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि तथा त्रिभुवन विश्वविद्यालयमा वातावरण विज्ञान विषयमा विद्यावारिधि गरिरहेका छन्।

२०७९ को निर्वाचनमा उनी बझाङबाट समानुपातिकतर्फ पनि सिफारिस भएका थिए। यसपटक प्रतिनिधिसभामा पुनः सिफारिस भएपछि जोशी पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न गएका थिए। देउवा र जोशीबीचको भेट सकारात्मक रहेको कांग्रेसभित्रको स्रोतले बताएको छ। जोशी स्वयं पनि देउवा पक्षका युवा नेताका रूपमा परिचित छन्।

बझाङमा विगतदेखि नै त्यही पुरानो पुस्ताले प्रतिनिधित्व गर्दै आए पनि स्थानीयस्तरमा ठोस विकास नदेखिएको जनगुनासो बढेको बेला युवा पुस्तालाई अवसर दिनुपर्ने आवाज चर्किएको छ। निर्वाचन क्षेत्रका मतदाताले नयाँ नेतृत्व खोजिरहेको ठान्दै जोशी आफूलाई टिकट दिए जित्ने विश्वस्त देखिन्छन्।

“जिल्ला पार्टीले जनभावना हेरी मेरो नाम सिफारिस गरेको हो। अब म पछि फर्किनेछैन। टिकट पाएर जनतामाझ जानेछु र बझाङको विकासका लागि सबैसँग सहकार्य गर्दै काम गर्नेछु,” जोशीले भने। आन्तरिक पार्टी तहमा वरिष्ठ नेताहरूले आफूप्रति विश्वास देखाएको दाबी पनि उनले गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट