Techie IT
२०८३ कार्तिक २७, बिहीबार

हुआङको राजीनामासँगै क्रेस बनिन् एनभिडियाको अन्तरिम सिइओ, ट्रम्पले गरे कुकको सिफारिस

को हुन् अन्तरिम सिइओ कोलेट क्रेस ?


Colette Kress

विश्वकै प्रमुख प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) चिप निर्माता कम्पनी एनभिडियाको नेतृत्व अब कोलेट क्रेसले सम्हाल्ने भएकी छन् । कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङको अप्रत्याशित बहिर्गमनपछि सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सिएफओ) क्रेसलाई अन्तरिम सिइओ नियुक्त गरेको हो ।

कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार क्रेसले अन्तरिम सिइओका साथै सिएफओको जिम्मेवारी पनि निरन्तर सम्हाल्नेछिन् । स्थायी सिइओ नियुक्तिका लागि आन्तरिक र बाह्य दुवै क्षेत्रबाट उम्मेदवार खोजिने कम्पनीले जनाएको छ । हुआङको बहिर्गमनपछि सन् १९९३ देखि सञ्चालक समितिमा रहेका हार्भी सी जोन्सलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरिएको छ ।

विवादले ढले ३३ वर्षे साम्राज्यका निर्माता
सन् १९९३ मा एउटा सानो रेस्टुरेन्टमा बसेर सहसंस्थापकहरूसँग एनभिडियाको परिकल्पना गरेका हुआङले कम्पनीलाई टाट पल्टिने अवस्थाबाट जोगाउँदै ४० खर्ब (४ ट्रिलियन) डलरको विशाल साम्राज्यमा रूपान्तरण गरेका थिए । तर, व्यावसायिक सङ्कटहरू पार लगाएका हुआङ अन्ततः व्यक्तिगत जीवनको विवादका कारण बाहिरिनुपरेको छ ।

कम्पनीको विज्ञप्तिमा हुआङले अध्यक्ष, सिइओ र सञ्चालक समिति सदस्यबाट राजीनामा दिएको उल्लेख भए पनि रोयटर्सले भने सञ्चालक समितिले उनलाई पदबाट हटाएको जनाएको छ । हुआङका दुईवटा विवाहेत्तर सम्बन्धबारे समाचार सार्वजनिक भएपछि कम्पनीमाथि दबाब बढेको थियो । तीमध्ये एक सम्बन्ध चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलासँग र अर्को एनभिडियाकै एक उच्च अधिकारीसँग जोडिएको बताइएको छ ।

यही नोभेम्बर ८ मा सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर निकायको प्रभावमा परेको हुन सक्ने विषयमा स्वतन्त्र छानबिन सुरु गरिएको जनाएको थियो । छानबिन सुरु भएको केही दिनमै उनको बहिर्गमन भएको हो ।

ट्रम्पको सुझाव– टिम कुकलाई सिइओ बनाऊ
हुआङको राजीनामा लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पलका पूर्वसिइओ टिम कुकलाई एनभिडियाको नेतृत्व सुम्पनुपर्ने धारणा राखेका छन् । सामाजिक सञ्जालमार्फत ट्रम्पले भनेका छन्, “शानदार काम गरेका जेन्सेन हुआङले राजीनामा दिएपछि अब उनको स्थान लिन सक्ने एक मात्र व्यक्ति एप्पलका टिम कुक हुन् । एक लिजेन्डको ठाउँ अर्को लिजेन्डले लिनुपर्छ ।” कुक गत सेप्टेम्बरमा १५ वर्षे कार्यकालपछि एप्पलको सिइओबाट हटेका थिए ।

को हुन् अन्तरिम सिइओ कोलेट क्रेस ?
एनभिडियाको कमान सम्हालेकी कोलेट क्रेस प्रविधि क्षेत्रको वित्तीय व्यवस्थापनमा करिब तीन दशक लामो अनुभव भएकी अधिकारी हुन् । सन् २०१३ सेप्टेम्बरमा कार्यकारी उपाध्यक्ष तथा सिएफओका रूपमा एनभिडिया प्रवेश गर्नुअघि उनले टेक्सास इन्स्ट्रुमेन्ट्स, माइक्रोसफ्ट र सिस्कोजस्ता दिग्गज प्रविधि कम्पनीमा उच्च वित्तीय जिम्मेवारी सम्हालेकी थिइन् ।

क्रेस एनभिडियामा जोडिँदा कम्पनीको वार्षिक आम्दानी ४.२८ अर्ब डलर थियो, जुन पछिल्लो आर्थिक वर्षमा बढेर २१५.९ अर्ब डलर पुगेको छ । एन्थ्रोपिक र कोरविभजस्ता ठूला एआई कम्पनीहरूसँगको वित्तीय सम्झौतामा उनको मुख्य भूमिका थियो ।

युनिभर्सिटी अफ एरिजोनाबाट फाइनान्समा स्नातक र साउदर्न मेथोडिस्ट युनिभर्सिटीबाट एमबिए गरेकी क्रेस अमेरिकाकै धनी महिलामध्ये एक हुन् । फोर्ब्सको सन् २०२६ को अमेरिकाका धनी स्वनिर्मित महिलाको सूचीमा ३२औँ स्थानमा रहेकी उनीसँग एनभिडियाको करिब ४४ लाख ४० हजार कित्ता सेयर छ, जसको मूल्य करिब ७५ करोड डलर (गत महिना १ अर्ब डलर नाघेको) रहेको छ ।

सिएफओ रहँदा क्रेसले चीनमा चिप निर्यात प्रतिबन्ध लगाउने अमेरिकी नीतिका कारण एनभिडियाको डेटा सेन्टर आम्दानी (जसमा चीनको हिस्सा २०–२५ प्रतिशत थियो) मा असर पर्ने र चिनियाँ प्रतिस्पर्धीहरू बलियो हुन सक्ने भन्दै निरन्तर आवाज उठाउँदै आएकी थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट