एमाले रुपन्देही सचिव चित्रबहादुर कार्की रास्वपामा प्रवेश
नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिवसमेत रहेर लामो समय पार्टी राजनीतिमा सक्रिय रहेका नेता हुन्।
भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा सरकारले अनावश्यक दमन गरी युवा तथा विद्यार्थीको ज्यान गएको घटनाप्रति असन्तुष्टि जनाउँदै कार्कीले त्यसैबेला एमाले परित्यागको घोषणा गरेका थिए। त्यसयता उनी पार्टी गतिविधिमा फर्किएका थिएनन्।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्लेलगायत शीर्ष नेताहरूसँगको संवाद र छलफलपछि आफूले रास्वपा रोजेको कार्कीले बताएका छन्। रास्वपा रुपन्देहीका नेता सुदन ज्ञवालीका अनुसार आइतबार सैनामैनामा आयोजना हुने वृहत पार्टी प्रवेश कार्यक्रममा कार्कीलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिनेछ। उक्त कार्यक्रममा उपसभापति स्वर्णिम वाग्लेलगायत नेताहरू रुपन्देही आउने कार्यक्रम रहेको छ।
कार्कीले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र परिवारवादविरुद्ध तथा सुशासनको पक्षमा भएको युवा–विद्यार्थी आन्दोलनलाई तत्कालीन सरकार र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दमन गरेको, त्यसमा नैतिक जिम्मेवारी नलिएको र गल्ती स्वीकार नगरेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् । देश निर्माणमा सक्रिय योगदान दिन आफूले रास्वपा रोजेको उनको भनाइ छ।
नगर प्रमुखका रूपमा कार्यकालमा कार्कीले अन्तरपालिका सहकार्यमा फोहोर व्यवस्थापन, सार्वजनिक यातायात सञ्चालन, नगर चक्रपथ निर्माण, बेघरबारलाई आवास, तथा सरकारी विद्यालयमा कम्प्युटर शिक्षा जस्ता नमुना कार्यक्रम र अवधारणा अघि सारेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस