Techie IT
२०८२ पौष १, मंगलबार

ओलीको टिममा पुरानैको दबदबा


नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षबाट पदाधिकारीहरूको नाम टुंगो लगाएका छन्।

ओली पक्षबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको नाम अन्तिम गरिएको छ। यसअघि १०औँ महाधिवेशनमा पनि ओली अध्यक्ष र पोखरेल महासचिवमा निर्वाचित भएका थिए। यस पटक पनि ओलीले पार्टीका दुई मुख्य पदमा उही नेतृत्वलाई निरन्तरता दिएका हुन्।

उपाध्यक्ष पदका लागि ओली पक्षबाट रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई अघि सारिएको छ। १०औँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले यस पटक कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन्। त्यसैगरी सुरेन्द्रप्रसाद पाण्डेले ओली इतर पक्षबाट महासचिव पदमा उम्मेदवारी दिने भएका छन्। बाँकी थापा, पौडेल र बराललाई ओलीले पुनः उपाध्यक्षमै निरन्तरता दिएका हुन्।

यसअघि उपमहासचिव रहेका प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई एक तह माथि बढाउँदै उपाध्यक्षको उम्मेदवार बनाइएको छ।

उपमहासचिव पदका लागि भानुभक्त ढकाल, विष्णु रिमाल र रघुवीर महासेठलाई अघि सारिएको छ। रिमाल साबिककै पदमा दोहोरिन लागेका हुन् भने सचिव रहेका महासेठलाई उपमहासचिवमा अघि बढाइएको छ।

सचिव पदमा ओली पक्षबाट लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, यामलाल कँडेल, राजन भट्टराई, हिक्मत कार्की, महेश बस्नेत, शेरधन राई र खगराज अधिकारी उम्मेदवार बनाइएका छन्।

उनीहरूमध्ये भट्ट, विश्वकर्मा र अर्याल १०औँ महाधिवेशनमा पनि सचिवमा निर्वाचित भएका थिए भने कँडेल, कार्की, भट्टराई, बस्नेत र राई पहिलो पटक पदाधिकारीमा उम्मेदवार बन्न लागेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट