यमनमा हुथी विद्रोहीको दबदबा बढ्दै: सरकारी सेना पछि हट्यो
यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले आफ्नो सैन्य उपस्थिति आक्रामक रूपमा विस्तार गरेसँगै साउदी अरेबियाको समर्थन प्राप्त ‘सदर्न आर्म्ड फोर्सेस’ रणनीतिक महत्वको ‘बाब एल–मन्देब’ जलमार्ग क्षेत्रबाट पछि हटेको छ।
संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त यमनी सरकारसमर्थित सेनाले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य अवस्थिति परिवर्तन (रि–पोजिसन) गरेको पुष्टि गरेको हो।
सरकारी सेनाका अनुसार रणनीतिक रूपमा पछि हट्नुको मुख्य उद्देश्य दक्षिणी बन्दरगाह सहर एडेन तथा आसपासका प्रान्तहरूको सुरक्षा सुदृढ पार्नु र सेनाको अग्रपंक्तिलाई थप बलियो बनाउनु हो। यसका साथै, सेनाले देशको तेस्रो ठूलो सहर ताइजमा हुथी विद्रोहीले लगाउँदै आएको लामो समयदेखिको नाकाबन्दी अन्त्य गर्ने लक्ष्यसमेत राखेको जनाएको छ। करिब २० लाख जनसंख्या रहेको ताइजमा जारी नाकाबन्दीका कारण खाद्यान्न र अत्यावश्यक औषधिको गम्भीर अभाव सिर्जना हुने जोखिम बढेको छ।
राजधानी सानासहित उत्तरपश्चिम यमनको ठूलो भूभाग नियन्त्रणमा राखेको हुथी समूहले गत सेप्टेम्बरदेखि सरकारी सेनाविरुद्ध आक्रमण तीव्र पारेको थियो। सोही क्रममा विद्रोहीहरूले लाल सागरलाई अदनको खाडी र हिन्द महासागरसँग जोड्ने विश्व व्यापारका लागि अत्यन्तै संवेदनशील बाब एल–मन्देब जलमार्गको अधिकांश तटीय क्षेत्र र प्रमुख बन्दरगाह सहर मोखा कब्जामा लिएका थिए। साउदी समर्थित सेना पछि हटेसँगै यस क्षेत्रमा हुथीहरूको प्रभाव अझै विस्तार हुने आशंका बढेको छ। समाचार संस्था एएफपीका अनुसार हुथी लडाकुहरू अहिले सरकारी मुख्यालय रहेको एडेन सहरबाट करिब ६० किलोमिटरको दूरीमा आइपुगेका छन्।
एक दशकभन्दा लामो समयदेखि गृहयुद्धको चपेटामा परेको यमनको द्वन्द्व इरान र साउदी अरेबियाबीचको क्षेत्रीय शक्ति संघर्षका कारण थप जटिल बन्दै गएको छ। यसैबीच, हुथी विद्रोहीहरूले आइतबार साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र वित्तीय क्षेत्रलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेका छन्। यद्यपि, साउदी अरेबियाका तर्फबाट भने उक्त आक्रमणको आधिकारिक पुष्टि भएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस