Techie IT
२०८२ पौष १, मंगलबार

एमाले महाधिवेशनमा यी ११ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित


नेकपा (एमाले) को ११ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि दर्ता भएको उम्मेदवारीमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार नामावलीअनुसार सम्बन्धित पदमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

लुम्बिनी प्रदेशको महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन्। प्रदेशबाट महिला केन्द्रीय सदस्य तीन जना निर्वाचित हुने व्यवस्था रहेकाले तीनै पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन्।

यस्तै, मधेशी क्लस्टरअन्तर्गत युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्। उक्त क्लस्टरबाट दुई जना युवा केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था भए पनि एक पदमा उम्मेदवारी नपरेका कारण उक्त पद रिक्त रहेको छ।

केन्द्रीय सदस्य समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी छन्। समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन्।

पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एसियातर्फ हरिप्रसाद घिमिरे तथा ४० वर्षमुनिका युवातर्फ नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

यस्तै, पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्रा. डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे एकल उम्मेदवारीका आधारमा निर्विरोध निर्वाचित भएका छन्। लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट