Techie IT
२०८२ माघ २५, आइतबार

एमाले महाधिवेशनमा आज मतदान, ओली–पोखरेलबीच कडा प्रतिस्पर्धा

क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि एक हजारभन्दा बढीको उम्मेदवारी दर्ता भएको छ।


नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। आयोगले सोमबार अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको हो।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा विद्युतीय मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग गरिनेछन्। बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ। एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन्। विद्युतीय मतदान प्रणाली रामलक्ष्मण इनोभेसन प्रालिले व्यवस्थापन गरेको हो।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको प्रारम्भिक नामावलीअनुसार अध्यक्षसहित अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदमा पनि समूहगत र स्वतन्त्र रूपमा उम्मेदवारी परेको छ।

संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ।

एक महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै, तीन उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन्।

नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ भने विभिन्न भूगोल र क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि एक हजारभन्दा बढीको उम्मेदवारी दर्ता भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट