Techie IT
२०८३ जेष्ठ २, शनिबार

नख्खु कारागारमा एक घण्टा: रविले किन बोलाए प्रदीपलाई ?


नायक प्रदीप खड्काले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्। उनले करिब एक घण्टा लामो समय कारागारभित्र रवि लामिछानेसँग भेटवार्ता गरेका थिए।

भेटका क्रममा रवि लामिछानेले आफूलाई रास्वपामा सहभागी हुन सुझाव दिएको प्रदीप खड्काले बताए। रविसँगको चिनजान पुरानो रहेको उल्लेख गर्दै प्रदीपले भने, “गोपीकृष्ण फिल्म गर्दा देखि नै हाम्रो परिचय हो। उहाँले मलाई तपाईं चुनौती स्वीकार गर्ने मान्छे हो, यदि मेरो काम र प्रतिबद्धतामा समस्या नआउने हो भने खुला रूपमा रास्वपामा आउनुस् भन्नुभयो। चलचित्रमा एक दशक योगदान दिनुभयो, अब प्रत्यक्ष राजनीतिमा आउनुहोस् भन्ने उहाँको आशय थियो।”

तर, तत्काल आफ्नो पेशा छाडेर राजनीतिमा आउने मनसाय नभएको प्रदीपले स्पष्ट पारेका छन् । उनले भने, “देशलाई आवश्यकता परेमा आउनै पर्ने अवस्था आयो भने पनि यहाँ मभन्दा धेरै सक्षम व्यक्तिहरू छन्। तर यदि ती सक्षम व्यक्तिहरूले आफ्नै स्वार्थ र परिवारको हित मात्र हेरे भने आवश्यक परेमा म पछि आउन सक्छु। अहिले भने म कलाकारकै भूमिकामा छु।”

आफू जुन क्षेत्रमा छ, त्यहीँ योगदान दिनु उचित ठान्ने बताउँदै प्रदीपले अबका कम्तीमा १० वर्ष फिल्म क्षेत्रमा नै सक्रिय रहने योजना रहेको बताए। रवि लामिछानेलाई भेट्न आएको कारणबारे प्रदीपले भने, “पुरानो सरकारले उहाँमाथि कुदृष्टि राखेर काम गरिरहेको महसुस भएको थियो। नयाँ सरकार आएपछि न्याय मिल्ला भन्ने लागेको थियो, तर पछिल्ला तीन महिनामा खासै परिवर्तन देखिन सकेन।”

आगामी राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै उनले भने, “अबको तीन महिनापछि चुनाव छ। रास्वपा जनताले विश्वास गरेको नयाँ शक्ति हो। संगठन विस्तारका हिसाबले पनि रास्वपा सम्भावनायुक्त देखिन्छ। अहिले धेरै युवायुवती विदेश पलायन भइरहेका छन्। कहिलेकाहीँ मलाई पनि यो देश बस्न लायक छैन कि भन्ने लाग्छ। त्यस्तो मनस्थितिमा उहाँले भेट्ने इच्छा देखाउनुभएपछि म भेट्न आएको हुँ।”

प्रदीपका अनुसार भेटका क्रममा रवि लामिछानेले जति समय लागे पनि धैर्य राखेर सम्पूर्ण प्रक्रिया पूरा गरी ‘क्लिन’ भएर बाहिर निस्किने विश्वास व्यक्त गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट