लेखराज भट्ट ‘रेडजोन’मा
नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत भइरहेको मतदानका क्रममा सुदूरपश्चिमतर्फका उम्मेदवार सूची नेताहरूले आफ्नै अनुकूलतामा बनाएको पाइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूहभित्र केन्द्र र भूगोलका आधारमा गुटगत ध्रुवीकरण स्पष्ट देखिन थालेपछि फरक–फरक सूची वितरण भएको हो।
संस्थापन निकट सुदूरपश्चिमका उम्मेदवारहरूको सूचीमा कतै उपमहासचिवका उम्मेदवार लेखराज भट्टको नाम हटाइएको छ भने कतै कर्ण थापा र लिलाधर भट्टको नाम समावेश गरिएको देखिएको छ। कुनै सूचीमा गोविन्द गिरीको नामसमेत हटाइएको छ।
एक महाधिवेशन प्रतिनिधिका अनुसार, “संस्थापनबाट लेखराज भट्ट उपमहासचिवका उम्मेदवार भए पनि कतिपय सूचीमा उहाँकै नाम छैन। केही सूचीमा उपमहासचिवको स्थानमा ईश्वर पोखरेल समूहबाट सचिवका उम्मेदवार कर्ण थापाको नाम राखेर वितरण गरिएको छ।”
यसअघि संस्थापन समूहभित्र लेखराज भट्टको नाम सचिव पदमै टुंगिएको थियो। तर अर्को पक्षबाट कर्ण थापाले पनि सचिव पदमै उम्मेदवारी दिने सहमति भएपछि भट्टले उपमहासचिवमा दाबी गरेका थिए। भट्टको असन्तुष्टिपछि अध्यक्ष ओलीले उनलाई उपमहासचिव र भानुभक्त ढकाललाई सचिव पदमा उम्मेदवार बनाएका हुन्।
लिलाधर भट्ट र गोविन्द गिरी केन्द्रीय सदस्यका उम्मेदवार हुन्। लिलाधर भट्ट सुदूरपश्चिमतर्फ खुला केन्द्रीय सदस्यका उम्मेदवार हुन्, जहाँ पाँच पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ। ४० वर्षमुनि तर्फ गोविन्द गिरी र डिबी साउद उम्मेदवार छन्, जसबाट एक जना मात्रै निर्वाचित हुने व्यवस्था छ।
महाधिवेशन प्रतिनिधिलाई अलमलमा पार्ने उद्देश्यले आफ्ना अनुकूलका सूची तयार पारेर वितरण गरिएको एक नेताले जानकारी दिए। केन्द्रमा लेखराज भट्ट र कर्ण थापा फरक–फरक गुटबाट क्रमशः उपमहासचिव र सचिव पदका उम्मेदवार भए पनि सुदूरपश्चिममा भने दुवैले आपसी सहमतिमा महाधिवेशन प्रतिनिधि चयन गरेका थिए।
सुदूरपश्चिममा दामोदार भण्डारीले लेखराज भट्ट र कर्ण थापाविरुद्ध छुट्टै गुट सञ्चालन गर्दै आएका छन्। महाधिवेशन प्रतिनिधि चयनका क्रममा कैलालीलगायतका जिल्लामा भण्डारीले उनीहरूविरुद्ध एकल प्रतिस्पर्धा गराएका थिए। दुई गुटबीच विवाद चर्किएपछि कैलालीका तीन र कञ्चनपुरका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनका लागि निर्वाचन नै गर्नुपरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस