सुदूरपश्चिमलाई खेलकुदको हब बनाउँछौँ: मुख्यमन्त्री भट्ट
डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको खेलकुद क्षेत्रको समग्र विकास, खेल पूर्वाधारको विस्तार तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहन र वृत्ति विकासका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत डडेल्धुरामा आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम खेलकुदको प्रचुर सम्भावना बोकेको भूमि भएकाले यसलाई यस क्षेत्रको प्रमुख 'खेलकुद हब' का रूपमा विकसित गर्नुपर्नेमा जोड दिएका थिए ।
मुख्यमन्त्री भट्टले खेलकुदलाई केवल मनोरञ्जन र सीमित प्रतिस्पर्धामा मात्र नभई पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र प्रदेशको पहिचान स्थापित गर्ने शक्तिशाली माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। खेल पर्यटनमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउन योजनाबद्ध पहल र आवश्यक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो।
विश्वका धेरै राष्ट्रहरू खेलकुद र खेलाडीकै माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा परिचित भएको उदाहरण दिँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको नाम देश-विदेशमा उचाइमा पुर्याउन यहाँका खेलाडीहरूको भूमिका अतुलनीय रहेको औँल्याउनुभयो। डडेल्धुरालगायत प्रदेशका विभिन्न जिल्लामा खेल प्रतिभाको कुनै कमी नरहेको उल्लेख गर्दै उनले स्थानीय स्तरमा लुकेका ती प्रतिभाहरूको समयमै पहिचान, विकास र उचित प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट चरणअन्तर्गत डडेल्धुरामा सञ्चालित उक्त भलिबल प्रतियोगिताको समापन समारोहमा मुख्यमन्त्री भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।



तपाईको प्रतिक्रिया दिनुहोस