भृकुटीमण्डपमा महाधिवेशन चलिरहँदा बालकोटका एमाले नेता–कार्यकर्ता नेकपामा प्रवेश
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ (बालकोट) का नेकपा एमाले निकट नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता अभियानमा आबद्ध भएका छन्। उनीहरू बुधबार औपचारिक रूपमा पार्टी प्रवेश गर्दै एकता अभियानमा सहभागी भएका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा एमाले बालकोटका नेता तथा वडा नम्बर २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. डी. के. रोसन, साथै एमाले सूर्यविनायकका नेता तथा कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइ कृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, धुर्व केसी, रुकुश वेकाजु, सुदिप प्रजा र कृष्णशरण लामिछानेलगायत रहेका छन्।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
सो अवसरमा संयोजक प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज रूपान्तरण र जनताको हितमा दृढतापूर्वक अघि बढ्न सबैलाई नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुन आह्वान गरेका थिए ।
कार्यक्रममा पार्टी प्रवेश गरेका नेताहरूले नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस