Techie IT
२०८२ पौष ३, बिहीबार

निर्वाचन हुनेमा शंका उत्पन्न भएको छ - नेता कोइराला

तोकिएको मितिमा निर्वाचन सम्पन्न नभए विघटित संसद् पुनःस्थापनाको माग अघि बढ्ने


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ गते निर्वाचन गराउन इच्छुक छ कि छैन भन्ने विषयमा शंका उत्पन्न भएको बताएका छन्।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न नदिने निर्णयलाई लिएर सरकारको नियतमाथि प्रश्न उठाएका हुन्।

उनले भने, “नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले फागुन २१ को निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ। हामी चुनावमा जान तयार छौँ। तर, शान्ति सुरक्षा कायम गर्ने दायित्व सरकारको हो। अझै पाँच हजार कैदी फरार छन्, लुटिएका हतियार फिर्ता भएका छैनन्। एउटा पार्टीका अध्यक्षलाई उपत्यका नछोड्न भनिएको छ। यस्तो अवस्थामा चुनाव कसरी सम्भव हुन्छ ? मलाई त सरकार नै निर्वाचन गराउन इच्छुक छ कि छैन भन्ने डर लाग्न थालेको छ।”

कोइरालाले कांग्रेसको महाधिवेशन निर्वाचनअगावै हुने र नयाँ कार्यसमितिले नै चुनावी टिकट बाँड्ने स्पष्ट पारे। तर, उनले निर्वाचनको मितिबारे अनिश्चितता कायमै रहेको भन्दै थप आशंका व्यक्त गरेका छन् । “कांग्रेसमा नयाँ कार्यसमितिले टिकट बाँड्छ। तर, प्रश्न उठ्छ-चुनाव कहिले हुन्छ ? म त चुनाव हुन्छ भन्ने कुरामा विश्वस्त हुन चाहन्छु। तर, सरकारले कस्तो चुनाव गराउन खोजेको हो ? नेताहरूलाई स्थानहद लगाइएको छ,” उनले भने।

भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनमा सरकारले चरम दमन गरेको आरोप लगाउँदै कोइरालाले त्यस क्रममा विभिन्न जिल्लामा ७६ जनाको ज्यान गएको स्मरण गराए। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ।

त्यसबेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले उपत्यका छाड्न रोक लगाएको छ। आयोगले ओली र लेखकलाई आउँदो साता बयानका लागि बोलाउने तयारी गरिरहेको छ। तर, ओलीले आयोगमा बयान दिन नजाने बताउँदै आएका छन्।

छानबिन आयोगले ओलीमाथि लगाएको स्थानहदका कारण निर्धारित मितिमा निर्वाचन हुन्छ भन्ने विषयमै शंका उत्पन्न भएको कोइरालाको भनाइ छ।

उनले यदि तोकिएको मितिमा निर्वाचन सम्पन्न नभए विघटित संसद् पुनःस्थापनाको माग अघि बढ्ने चेतावनी पनि दिएका छन् ।
“चुनाव नहुने हो भने संसद् पुनःस्थापनाको माग अघि बढ्छ,” उनले भने, “संविधान अहिले पनि केही हदसम्म डिरेल भएकै छ। चुनाव भएन र संविधान झनै डिरेल हुन थाल्यो भने देश कता जान्छ भन्ने गम्भीर प्रश्न उठ्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट