कांग्रेसको महाधिवेशन अन्योलमा, देउवाले बोलाए आकस्मिक बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई आन्तरिक छलफलका लागि बोलाएका छन्।
देउवाले शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका हुन्। पार्टी स्रोतका अनुसार बैठकमा आगामी महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समिति गठन तथा समग्र संगठनात्मक तयारीबारे छलफल हुने छ।
कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, कार्यतालिका व्यवहारिक नभएको भन्दै पार्टीभित्रैबाट कार्यान्वयनमा चुनौती देखिने प्रतिक्रिया आउन थालेको छ।
हालको कार्यतालिकाअनुसार पुस १६ गते वडा अधिवेशन सम्पन्न गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने योजना छ। छोटो समयभित्र सबै तहका अधिवेशन सम्पन्न गर्न कठिन हुने नेताहरूको बुझाइ छ। पार्टीभित्र निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन भइसके पनि महाधिवेशनका लागि अत्यन्त महत्वपूर्ण मानिने विधान मस्यौदा समिति भने हालसम्म गठन हुन सकेको छैन। विधान मस्यौदा समिति ढिलाइ हुँदा महाधिवेशन तयारी थप अन्योलमा परेको नेताहरूको भनाइ छ।
शनिबार हुने शीर्ष नेताहरूको बैठकबाट महाधिवेशन कार्यतालिका पुनरावलोकन तथा विधान मस्यौदा समिति गठनबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस