भोली यी स्थानबाट शुरु हुनेछ नेपाली कम्युनिष्ट पार्टीको जुलुस
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। भोलि भृकुटीमण्डपमा आयोजना हुने ‘एकता सन्देश सभा’मा सहभागी हुन पार्टी मातहतका सबै कमिटीलाई आह्वान गरिएको नेता प्रकाश ज्वालाले जानकारी दिए। सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीबीच समन्वय र सहकार्य गर्न पार्टीले निर्देशन दिएको छ।
बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिको संयुक्त आयोजनामा हुने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत तथा सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेता हिमाल शर्माका अनुसार बागमतीस्तरीय एकता सन्देश सभाका लागि काठमाडौं उपत्यकाभरबाट व्यापक जनसहभागिता सुनिश्चित गरिएको छ।
उनका अनुसार काठमाडौंको पश्चिम भेगअन्तर्गत नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिका तथा क्षेत्र नं. ८, ९ र १० बाट आउने जनसमुदाय, चितवन र धादिङबाट नागढुंगा नाका हुँदै आउने सहभागी तथा मकवानपुरबाट बल्खु हुँदै आउने जनसमुदाय बिहान ११ बजे सुन्धारामा जम्मा हुनेछन्।
ललितपुरबाट कुपन्डोलमा भेला भई थापाथली र त्रिपुरेश्वर हुँदै आउने जुलुस पनि सोही समयमा सुन्धारामा पुग्नेछ। त्यसपछि रत्नपार्क-विद्युत प्राधिकरण हुँदै भृकुटीमण्डपतर्फ अघि बढ्ने उनले बताए।
त्यसैगरी काठमाडौंको उत्तरी भेग तारकेश्वर, टोखा, महानगरका क्षेत्र नं. ५, ६ र ७ तथा नुवाकोट र रसुवाबाट आउने जनसमुदाय बिहान ११ बजे रत्नपार्कमा जम्मा भई बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप जानेछन्।
बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र महानगरका क्षेत्र नं. ३, ४ र ५ बाट आउने सहभागीहरू बिहान ११ बजे डिल्लीबजार चारखालमा भेला भई शान्तिबाटिकाबाट आउने जुलुससँग मिसिएर पुतलीसडक हुँदै भृकुटीमण्डपतर्फ लाग्नेछन्।
काठमाडौं महानगरका क्षेत्र नं. १ र २ तथा भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापबाट कोटेश्वर हुँदै आउने जनसमुदाय बिहान ११ बजे बबरमहलमा जम्मा भई भद्रकाली चोक हुँदै भृकुटीमण्डप पुग्ने कार्यक्रम छ।
विभिन्न स्थानबाट र्यालीसहित आएका जुलुसहरू रत्नपार्क, भद्रकाली र पद्मोदय मोडतर्फबाट तोकिएका स्थानमा व्यवस्थित रूपमा बस्ने व्यवस्था मिलाइएको शर्माले बताए।
जुलुस ११ः३० बजे सुरु भई १२ बजे मञ्चमा पुग्ने र कार्यक्रम करिब दुई घण्टामा सम्पन्न हुने उनको भनाइ छ। विभिन्न १६ कम्युनिस्ट घटक मिलेर गठित नेकपाले हाल प्रदेशस्तरीय एकता सन्देश सभा सञ्चालन गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस