Techie IT
२०८२ पौष ७, सोमबार

भदौ २३ ‘कालो दिन’ थियो, तत्कालिन प्रधानमन्त्रीले जिम्मेवारीबाट उम्किन मिल्दैन : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद् ‘कालो दिन’को संज्ञा दिए । भ्रष्टाचार र कुशासनविरुद्ध युवा पुस्ता (जेन–जी) सडकमा उत्रिएका बेला भएको घटनामा धेरै युवाले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उनले गहिरो दुःख व्यक्त गरे ।

सडकमा जनताको आक्रोश पोखिनु स्वाभाविक भएको उल्लेख गर्दै उनले सार्वजनिक पदमा बस्ने व्यक्तिको नैतिकता सबैभन्दा महत्वपूर्ण हुने जिकिर गरे ।

‘राजनीतिक नैतिकता अत्यन्तै महत्वपूर्ण हुन्छ । म पदमा भएको भए यसको पूर्ण जिम्मेवारी लिन्थेँ,’ उनले भने । ठूलो पदमा बस्ने व्यक्तिले अझ बढी जिम्मेवारी वहन गर्नुपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री यसबाट उम्किन नमिल्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले घटनालगत्तै नेपाली कांग्रेसले गृहमन्त्रीलाई राजीनामा दिन लगाएर आफ्नो तर्फबाट राजनीतिक नैतिकता प्रदर्शन गरेको दाबी पनि गरे । घटनाको प्राविधिक छानबिन आवश्यक भए पनि सरकारको नेतृत्व गर्नेले नैतिक रूपमा ‘यसको जिम्मेवारी म लिन्छु’ भन्न सक्नुपर्ने उनले बताए ।

उनले भने, ‘सार्वजनिक ओहोदामा बसेको व्यक्तिको नैतिकता ठूलो कुरा हो । राजनीतिक नैतिकता अझ ठूलो कुरा हो । यसको जिम्मेवारी लिँदा कोही सानो हुँदैन । ठूलो पदमा बस्नेले नै बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो भन्ने विषयमा छानबिन हुँदै जाला, तर यसको जिम्मेवारी सरकारमा बसेकाहरूले लिनैपर्छ ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट