इरानसँग सम्झौता आवश्यक नरहेको ट्रम्पको भनाइ, डेमोक्रेटिक शासित राज्यमा निगरानी बढाइने
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि किसिमको सम्झौताको आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत सार्वजनिक अभिव्यक्ति दिँदै राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता गर्ने समय अब घर्किसकेको दाबी गरेका हुन् ।
सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, “हामीलाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन । ती दिनहरू धेरै पहिले नै बितिसकेका छन् । हामीसँग उनीहरूको पैसा छ र हामीसँग उनीहरूको होर्मुज स्ट्रेट पनि छ ।”
सोही पोस्टमार्फत राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टीको नेतृत्व रहेका राज्यहरूमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसमाथि निगरानी बढाउन उपराष्ट्रपति जेडी भेन्सलाई निर्देशन दिएको जानकारी दिएका छन् ।
ट्रम्पले मिनेसोटा, क्यालिफोर्निया र इलिनोइसजस्ता राज्यहरूको प्रशासन अत्यन्तै कमजोर र भ्रष्ट रहेको दाबी गर्दै ती राज्यहरूबाट हरेक महिना अर्बौँ डलर अनियमितता भइरहेको आरोप लगाएका छन् । यस्तो स्तरको आर्थिक अनियमितता रोक्न सके अमेरिकी सङ्घीय बजेटलाई छिट्टै सन्तुलनमा ल्याउन सकिने उनको भनाइ छ ।
डेमोक्रेटिक नेताहरूमाथि कडा टिप्पणी गर्दै ट्रम्पले अर्को एक पोस्टमा उल्लेख गरेका छन्, “यदि डेमोक्र्याट्सहरू वास्तवमै भ्रष्टाचार अन्त्य गर्न चाहन्छन् भने उनीहरूले सबैभन्दा पहिले आफ्नै राज्यहरूमा छानबिन गर्नुपर्छ, जहाँ दिनरात र हरेक घण्टा ठुलो परिमाणमा रकम हिनामिना भइरहेको छ ।”
राष्ट्रपति ट्रम्पको उक्त आरोपका सम्बन्धमा डेमोक्रेटिक पार्टी तथा सम्बन्धित राज्यका प्रशासनिक अधिकारीहरूको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस