कांग्रेस महाधिवेशन सर्न सक्छ: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन केही समय पर धकेलिन सक्ने संकेत गरेका छन्।
कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस महाधिवेशनबारे अत्यधिक चासो देखाइनु आवश्यक नरहेको बताए।
महाधिवेशन कुनै नौलो विषय नभएको उल्लेख गर्दै उनले कांग्रेसको अधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया भएको स्पष्ट पारे। सञ्चारमाध्यमहरूले यस विषयमा अस्वाभाविक चासो देखाउन जरुरी नरहेको उनको भनाइ थियो।
आफू महाधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पार्दै कोइरालाले सिरियल नम्बर नपुगेका क्रियाशील सदस्यता वितरणका कारण केही समय ढिलाइ हुन सक्ने अवस्था आएको बताए। उनले आफू भने २६ पुसमै महाधिवेशन हुनुपर्ने पक्षमा रहेको स्पष्ट गरे।
‘कांग्रेस महाधिवेशनबारे सबैलाई किन यति धेरै चिन्ता लागेको हो, मैले बुझेको छैन,’ कोइरालाले भने, ‘पार्टीको अधिवेशन भनेको नियमित प्रक्रिया हो, चार-चार वर्षमा हुन्छ र भइरहन्छ। तर यस विषयमा बारम्बार सोधिँदा कहिलेकाहीँ दिक्क पनि लाग्छ। पार्टी आफ्नो गतिमा अघि बढ्छ, अनावश्यक चिन्ता लिनु पर्दैन। यद्यपि नेपाली कांग्रेसको महाधिवेशन केही समय लम्बिन सक्छ।’
यसै अवसरमा कोइरालाले सरकारले आगामी २१ फागुनमा निर्वाचन तोके पनि उक्त मितिमा निर्वाचन हुन सक्ने अवस्था नदेखिएको टिप्पणी गरे। देशभर निर्वाचनको माहोल नदेखिएको भन्दै उनले तोकिएको समयमा चुनाव सम्भव नदेखिएको धारणा व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस